कांग्रेसको निर्देशन : १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउनू

काठमाडौँ । नेपाली कांग्रेसले १८ वर्ष उमेर पूरा नगरेका व्यक्तिलाई पार्टीको सदस्य नबनाउन निर्देशन दिएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै पार्टीको विधानअनुसार सदस्य बन्नका लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था रहेको स्पष्ट पारेका हुन्।

विज्ञप्तिमा इलामको माइजोगमाई गाउँपालिका–५ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित सुजल चापागाईँ १८ वर्ष पुग्न केही महिना बाँकी रहेको विवरण प्राप्त भएको जनाइएको छ। त्यसकारण उनको निर्वाचित क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी हाललाई स्थगन गरिएको समितिले जनाएको छ।

चापागाईँको नागरिकता विवरणअनुसार आगामी २०८३ माघ १८ गते १८ वर्ष उमेर पूरा हुने भएकाले त्यसपछि मात्रै उनले चाहेमा पार्टी सदस्यता कायम हुने विज्ञप्तिमा उल्लेख छ।

समितिले अन्य जिल्लाका वडा तहका निर्वाचनमा पनि १८ वर्ष उमेर नपुगेका व्यक्ति उम्मेदवार भई निर्वाचित भएको पाइएमा त्यस्तो निर्वाचनको कार्यान्वयन नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।