अब दुई दिनअगावै आकस्मिक बाढीको पूर्वसूचना

काठमाडौँ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले आकस्मिक बाढीको जोखिम पूर्वानुमान गर्ने समयावधि विस्तार गरेको छ । केन्द्रले बुधबारदेखि नेपालभरका साना नदीहरूमा हुन सक्ने आकस्मिक बाढीको पूर्वानुमान २४ घण्टाबाट बढाएर ४८ घण्टा अर्थात् दुई दिन अगावै गर्ने व्यवस्था लागू गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले मंगलबार जल तथा मौसम विज्ञान विभाग पुगेर विपद् पूर्वतयारी तथा पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउन निर्देशन दिएका थिए । त्यसको भोलिपल्ट जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत रहेको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बाढी पूर्वानुमानको समयावधि विस्तार गरेको हो ।

केन्द्रका प्रवक्ता डा. राजन भट्टराईका अनुसार जलविज्ञान तथा बाढी पूर्वानुमान एवं पूर्वसूचना सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रमुख नदीहरूको बाढी पूर्वानुमान तीन दिनबाट बढाएर पाँच दिन पुर्‍याइएको छ । त्यसैगरी, नेपालभरका साना नदीहरूमा आकस्मिक बाढीको जोखिम पूर्वानुमान गर्ने अवधि पनि २४ घण्टाबाट ४८ घण्टा बनाइएको छ ।

उनका अनुसार केन्द्रले आफ्नै नेपालकेन्द्रित बाढी पूर्वानुमान मोडेल तथा युरोपेली मध्यम दूरी मौसम पूर्वानुमान केन्द्र (ईसीएमडब्लुएफ) को समष्टिगत पूर्वानुमानमा आधारित प्रणालीलाई अन्य उपलब्ध विश्वव्यापी तथा क्षेत्रीय जलविज्ञानसम्बन्धी मोडेलसँग एकीकृत गरी नयाँ व्यवस्था सञ्चालनमा ल्याएको हो ।

दुई दिनको आकस्मिक बाढी जोखिम पूर्वानुमान तयार गर्दा दक्षिण एसिया आकस्मिक बाढी विश्लेषण प्रणाली, भू–चिस्यान, नदीको हालको जलसतह तथा प्रवाह, वर्षाको पूर्वानुमान, जलाधारको अवस्था र अन्य महत्त्वपूर्ण जलविज्ञानसम्बन्धी सूचकहरूको समग्र विश्लेषण गरिने प्रवक्ता भट्टराईले जानकारी दिए ।

पूर्वानुमानको समयावधि विस्तारसँगै सम्भावित बाढी तथा आकस्मिक बाढीको जोखिमबारे पहिले नै जानकारी प्राप्त हुने र यसले पूर्वतयारी, सतर्कता, जोखिम न्यूनीकरण तथा आवश्यक प्रतिकार्यका लागि थप समय उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

प्रवक्ता भट्टराईका अनुसार केन्द्रले आगामी दिनमा पूर्वानुमानको स्थानगत तथा समयगत शुद्धता बढाउने, प्रभावमा आधारित पूर्वानुमान प्रणाली विकास गर्ने, स्थानीय जोखिम पहिचान गर्ने र पूर्वसूचना प्रणालीलाई क्रमशः थप सुदृढ बनाउँदै लैजानेछ ।