चितवन – आगामी १२ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा हुने सम्भावना रहेकाले मौरीका घार तथा मौरीगोला सुरक्षित स्थानमा सार्न मौरीपालन विकास केन्द्र, भण्डाराले किसानलाई आग्रह गरेको छ।
केन्द्रका प्रमुख सुजन अङ्गाईका अनुसार मौसमविद् तथा जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै सम्भावित बाढी तथा डुबानबाट मौरीका घार जोगाउन पूर्वसतर्कता अपनाउन आवश्यक रहेको छ।
मौसमविद्का अनुसार उक्त अवधिमा पूर्वी भूभागदेखि सुदूरपश्चिमसम्मका विभिन्न क्षेत्रमा भारी वर्षा हुन सक्ने सम्भावना छ। त्यसैले खोला तथा नदी किनार, बगर, डुबानमा पर्ने होचा भूभाग र बाढीको जोखिम भएका स्थानमा राखिएका मौरीका घार तथा मौरीगोला तत्काल सुरक्षित स्थानमा सार्न केन्द्रले अनुरोध गरेको हो।
प्रमुख अङ्गाईले विगतमा खोला तथा नदी किनार र खेतमा राखिएका मौरीका घार तथा मौरीगोला बाढी र डुबानका कारण नष्ट भएका घटना रहेकाले यसपटक समयमै किसानलाई सचेत गराइएको बताए।
उहाँले मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै सम्भावित क्षति न्यूनीकरण गर्न मौरीका घार तथा गोलालाई समयमै सुरक्षित स्थानमा सार्न सम्पूर्ण मौरीपालक किसानलाई आग्रह गरिएको बताए।






