पाल्पा– गए रातिदेखि परेको अविरल वर्षासँगै पहिरो खस्दा पाल्पाका विभिन्न राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध भएका छन्। पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गतका सडकखण्डमा यातायात प्रभावित भएको छ।
सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्डअन्तर्गत सिद्धबाबा क्षेत्र तथा माथागढी गाउँपालिका–१ चिदीपानी हुँदै आर्यभञ्ज्याङ–रामपुर जाने सडकमा यातायात प्रभावित भएको हो। सिद्धबाबा क्षेत्रको ड्याम साइडमा निरन्तर पहिरो खसिरहेको छ।
प्रहरी चौकी दोभानका अनुसार माथागढी गाउँपालिका–१ चिदीपानीस्थित आयुर्वेद औषधालय नजिक गुडिरहेको ट्रकमाथि पहिरो खसेको छ। पहिरोले ट्रकमा सामान्य क्षति पुर्याएको प्रहरीले जनाएको छ।
पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन दुईवटा डोजर परिचालन गरिएको छ। लगातारको वर्षाका कारण जिल्लाका केही स्थानमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ।
वर्षासँगै तिनाउलगायत जिल्लाका नदी तथा खोलामा पानीको सतह बढेको छ। भारी वर्षाको सम्भावना रहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।






