काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताको महिला कबड्डीमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । यससँगै नेपाली महिला टोलीको पदक पनि पक्का भएको छ ।
जापानको तोकाइ सिटिजन व्यायामशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ३४–२५ अङ्कले हराएको हो ।
खेलको पहिलो हाफमा नेपालले १९–१३ को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि १५–१२ को अग्रता कायम राख्दै नेपालले श्रीलङ्कामाथि नौ अङ्कको जित निकालेको हो ।
समूह ‘बी’ मा रहेको नेपालले यसअघि थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग हार बेहोरेको थियो । यस समूहबाट नेपालसँगै चाइनिज ताइपेइ पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।
यसअघि चीनको हाङजाउमा आयोजित १९औँ एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो ।
यसैबीच, पुरुष कबड्डीमा पनि नेपालले आज मलेसियालाई पराजित गरेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियामाथि ७३–५२ को जित निकालेको हो ।
खेलको पहिलो हाफमा नेपालले ३७–२१ को अग्रता बनाएको थियो । दोस्रो हाफमा ३६–३१ को अग्रता कायम राख्दै नेपालले मलेसियालाई २१ अङ्कले हरायो ।
यद्यपि, पुरुष टोलीका लागि यो जित सान्त्वनामा सीमित भएको छ । यसअघि लगातार तीन खेलमा पराजित भएपछि नेपाली पुरुष टोली प्रतियोगिताबाट बाहिरिसकेको छ ।






