लमजुङ । मुलुकभर केही दिन भारीदेखि अतिभारी वर्षा हुने सम्भावना रहेसँगै सम्भावित विपद्बाट हुने जोखिम न्यूनीकरण तथा विद्यार्थी, शिक्षक र कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै लमजुङका पाँच स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
बेँसीसहर, सुन्दरबजार र मध्यनेपाल नगरपालिका तथा क्व्होलासोथार र दोर्दी गाउँपालिकाले बिहीबार छुट्टाछुट्टै सूचना जारी गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । तीमध्ये चार स्थानीय तहले शुक्रबार एक दिन विद्यालय बन्द गर्ने जनाएका छन् भने मध्यनेपाल नगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने जनाएको छ ।
नेपाल मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनुका साथै हावाहुरी र चट्याङको समेत जोखिम रहेको विभागले पूर्वानुमान गरेको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षा सुनिश्चित गर्न आवश्यकताअनुसार असोज ८ र ९ गते विद्यालयमा बिदा गराउन स्थानीय तहलाई अनुरोध गरेको छ ।
बेँसीसहर नगरपालिकाले नगर क्षेत्रमा निरन्तर वर्षा भइरहेको र सम्भावित विपद्को जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै नगरभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाले बिदालाई अन्य बिदामा समायोजन गर्ने जनाएको छ ।
त्यस्तै, सुन्दरबजार नगरपालिकाले पहिरो तथा भूक्षय जाने, खोलानालामा पानीको बहाव बढ्ने र सडक अवरुद्ध हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सम्पूर्ण शैक्षिक संस्था सञ्चालन नगर्ने निर्णय गरेको छ । नगरपालिकाले अत्यावश्यक कामबाहेक टाढा तथा जोखिमयुक्त यात्रा नगर्न र जोखिमको अवस्था देखिएमा सुरक्षित स्थानमा सर्न तयार रहनसमेत नगरवासीलाई आग्रह गरेको छ ।
मध्यनेपाल नगरपालिकाले सम्भावित विपद्को जोखिमबाट सुरक्षित रहन दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले नगरवासीलाई उच्च सतर्कता अपनाउन तथा अत्यावश्यक कामबाहेक टाढाको यात्रा नगर्न अनुरोध गरेको छ ।
दोर्दी गाउँपालिकाले विद्यार्थी, शिक्षक तथा कर्मचारीको आवतजावतका क्रममा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाका अनुसार उक्त बिदा शैक्षिक क्यालेन्डरमा रहेको हिउँदे बिदाबाट एक दिन घटाएर मिलान गरिनेछ । साथै, विद्यालयहरूले सट्टा पठनपाठनको व्यवस्था मिलाउनुपर्नेछ ।
क्व्होलासोथार गाउँपालिकाले पनि विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राख्दै गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालय एक दिन बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाले बिदाको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन तथा बाढी, पहिरो, हिमपात, हावाहुरी र चट्याङको सम्भावित जोखिमबाट सुरक्षित रहन आग्रह गरेको छ ।
भारी वर्षाका कारण बाढी, पहिरो, भूक्षय, खोलानालामा पानीको बहाव बढ्ने तथा सडक अवरुद्ध हुन सक्ने सम्भावना रहेकाले स्थानीय तहहरूले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् ।
त्यसैगरी, जोखिमयुक्त नदी तथा खोलाका किनार र पहिरो जान सक्ने क्षेत्रमा नजान तथा मौसम र विपद्सम्बन्धी आधिकारिक सूचनाहरू नियमित रूपमा जानकारी लिनसमेत स्थानीय तहहरूले आग्रह गरेका छन् ।






