कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको छ। पार्टीको महाधिवेशन यही असोज १६ देखि १९ गतेसम्म आयोजना हुँदैछ।

पार्टी केन्द्रीय कार्यालयका अनुसार विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण अधिवेशन प्रक्रिया प्रभावित भएको छ। निर्वाचन अधिकृतहरूबाट प्राप्त जानकारीअनुसार प्रतिकूल मौसमका कारण निर्वाचन कार्यक्रम सञ्चालनमा कठिनाइ भइरहेको छ।

मौसमको प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै कांग्रेसको निर्वाचन समितिले यही असोज १० गतेका लागि निर्धारित प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम अनुकूलताअनुसार सञ्चालन गर्न निर्देशन दिएको छ।

समितिले सम्बन्धित निर्वाचन अधिकृतहरूलाई असोज १३ गतेभित्र निर्वाचन कार्यक्रम सम्पन्न गरिसक्न निर्देश गरेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।