तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आगामी तीन दिनसम्म देशभर प्रतिकूल मौसमी प्रणाली फैलिने सम्भावना रहेको भन्दै भारी वर्षा, बाढी, आकस्मिक बाढी तथा पहिरोको जोखिमबाट सुरक्षित रहन सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

मन्त्रालयका अनुसार जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र मौसम विज्ञान विभागले विकसित मौसमी प्रणालीको निरन्तर अनुगमन गरिरहेका छन्। सम्भावित विपद्को जोखिम न्यूनीकरण तथा पूर्वतयारीलाई प्रभावकारी बनाउन सम्बन्धित निकायले अवस्थाको निगरानी गरिरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता मोहनकुमार शाक्यले आज जारी गरेको प्रेस विज्ञप्तिमा बाढीको जोखिमसम्बन्धी पूर्वजानकारी लिन सर्वसाधारणका लागि टोल फ्री नम्बर ११५५ सञ्चालनमा ल्याइएको उल्लेख गरिएको छ। उक्त नम्बरमार्फत बाढीसम्बन्धी सूचना तथा जानकारी प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ।

त्यसैगरी, मौसम तथा बाढीसम्बन्धी आधिकारिक अद्यावधिक जानकारीका लागि ‘नेपाल फ्लड अलर्ट’ (Nepal Flood Alert) र ‘नेपाल वेदर फोरकास्ट’ (Nepal Weather Forecast) का आधिकारिक फेसबुक पेज तथा hydrology.gov.np र dhm.gov.np वेबसाइटबाट नियमित बुलेटिन र सूचना प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ।

यसैबीच, विपद् पूर्वतयारी तथा जोखिम न्यूनीकरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बाढी पूर्वानुमानको समयावधि विस्तार गरेको छ। यही असोज ७ गतेदेखि लागू हुने गरी प्रमुख नदीहरूमा बाढी पूर्वानुमानको अवधि साबिकको तीन दिनबाट बढाएर पाँच दिन पुर्‍याइएको मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै, देशभरका साना नदीहरूमा आउन सक्ने आकस्मिक बाढीको पूर्वानुमान अवधि पनि एक दिनबाट बढाएर दुई दिनसम्म विस्तार गरिएको छ।

पूर्वानुमानको समयावधि बढाइएपछि सम्भावित बाढीको जोखिमबारे अग्रिम जानकारी प्राप्त गर्न सहज हुने र त्यसले पूर्वतयारी, सतर्कता, जोखिम न्यूनीकरण तथा आवश्यक प्रतिकार्यका लागि थप समय उपलब्ध गराउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

मौसम प्रतिकूल रहने पूर्वानुमानलाई ध्यानमा राख्दै नदी तथा खोलाको आसपास, बाढी र पहिरोको जोखिमयुक्त क्षेत्र तथा जोखिमपूर्ण यात्रा मार्गमा विशेष सावधानी अपनाउन आवश्यक देखिएको छ।