जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी असोज १० गते वीरगञ्जस्थित टाउन हलमा हुने भएको छ। महाधिवेशनको तयारीसँगै निर्वाचनसम्बन्धी कार्यतालिका समेत तय भइसकेको पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए।

पार्टीले सार्वजनिक गरेको कार्यतालिकाअनुसार जिल्लाबाट मनोनीत हुने महाधिवेशन प्रतिनिधिको विवरण भदौ २८ गतेभित्र केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्नेछ। भदौ २९ गते मतदाता नामावली प्रकाशन, ३० गते दाबी–विरोध र ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।

केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यसहित सबै पदका लागि असोज १ गते उम्मेदवारी मनोनयन दर्ता हुनेछ। असोज २ गते उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, ३ गते दाबी–विरोध, ४ गते उम्मेदवारी फिर्ता र ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।

महाधिवेशनको पूर्वसन्ध्यामा असोज ९ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्नेछ। असोज १० गते महाधिवेशन उद्घाटनसँगै मतदान हुनेछ भने असोज ११ गते मतगणना गरी अन्तिम परिणाम घोषणा गरिने पार्टीले जनाएको छ।