बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द

भक्तपुर — भक्तपुरको बोडे र काठमाडौंको मूलपानी जोड्ने मनोहरा खोलाको पुलनजिकको जमिन भासिएपछि उक्त सडकमा यातायात आवागमन रोकिएको छ।

निरन्तरको वर्षाका कारण मनोहरा खोलामा आएको बाढीले पुलनजिकको सडकको जमिन भासिएपछि पुलसमेत जोखिममा परेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले जानकारी दिए। जोखिमलाई मध्यनजर गर्दै सवारीसाधनको आवागमनमा रोक लगाइएको हो।

बाढीको अवस्था अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी खड्का, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्कालगायतको टोलीले हनुमन्ते र मनोहरा खोलाको निरीक्षण गरेको थियो।

अविरल वर्षाका कारण भक्तपुरका हनुमन्ते, खस्याङखुसुङ र गोदावरी खोलाको सतहसमेत बढेको छ। डेकोचा, पिखेल हुँदै चाँगुनारायणतर्फ जाने सडकमा खोलाको पानी बगेपछि त्यस क्षेत्रमा पनि आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ।

यसैगरी बालकोट, कौशलटार, लोकन्थली र सागबारी क्षेत्रमा हनुमन्ते खोलाको पानीको सतह बढेर अस्थायी टहरासम्म पुगेपछि प्रहरीले त्यहाँ बसोबास गर्दै आएकाहरूलाई सुरक्षित स्थानमा सारेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख खड्काका अनुसार विस्थापितहरूलाई कौशलटारस्थित आदर्श जनप्रेमी माध्यमिक विद्यालयमा राखिएको छ।

बालकोट र लोकन्थलीको सीमामा पर्ने सागबारी हनुमन्ते, मनोहरा र गोदावरी खोला मिसिने त्रिवेणी क्षेत्र हो। वर्षासँगै तीनवटै खोलामा पानीको बहाव बढेपछि उक्त क्षेत्र उच्च जोखिममा परेको प्रहरीले जनाएको छ।