पाल्पा । अविरल वर्षाका कारण पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ढुस्टुङस्थित गोलफानमा दुई वटा कच्ची घर भत्किँदा एक महिला बेपत्ता भएकी छन्।
शुक्रबार दिउँसो वर्षासँगै स्थानीय रामबहादुर उचै र केशुराम सारुको घर भत्किएको हो। घर भत्किँदा केशुराम सारुकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु बेपत्ता भएकी वडाध्यक्ष प्रकाश रायमाझीले जानकारी दिए।
उनका अनुसार घर भत्किने क्रममा परिवारका अन्य सदस्यहरू भने भागेर ज्यान जोगाउन सफल भएका छन्। कृष्णकुमारी कपडा मिलाउँदै गर्दा घरभित्रै च्यापिएको बताइएको छ।
घर भत्किएको स्थानमा पहिरो र दलदलसमेत रहेकाले खोजी तथा उद्धारमा समस्या भएको छ। लगातार पानी परिरहेका कारण थप जोखिम बढेको स्थानीयले बताएका छन्।
उद्धारका लागि जिल्लास्थित सशस्त्र प्रहरीलाई खबर गरिए पनि घटनास्थलसम्म पुग्ने सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएकाले सुरक्षाकर्मीलाई पुग्न कठिनाइ भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घरभन्दा केही माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएपछि उद्धार टोली घटनास्थल पुग्न समस्या भएको हो। प्रहरीले बाटो खुलाउने तथा बेपत्ता महिलाको खोजीका लागि आवश्यक समन्वय गरिरहेको जनाएको छ।






