रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्षसहित तीन जनप्रतिनिधिको एक महिनासम्म पनि अवस्था पत्ता नलागेपछि परिवारले परम्परागत काजकिरिया सुरु गरेका छन्।
गत भदौ १० गते आएको बाढीमा परी गोसाइँकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा लामा, वडा नं २ का वडाध्यक्ष कामीछिरिङ तामाङ र वडा नं ५ का वडाध्यक्ष दावामिङ्मार तामाङ बेपत्ता भएका थिए।
बाढीपछि स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीयवासीले निरन्तर खोजीकार्य गरे पनि एक महिनासम्म उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन। खोजीकार्यबाट कुनै उपलब्धि नभएपछि परिवारजनले जीवितै उद्धार हुने आशा क्षीण बन्दै गएको भन्दै परम्परागत संस्कारअनुसार काजकिरिया प्रक्रिया अघि बढाएका हुन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा गोसाइँकुण्ड गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित प्रतिमा लामा नर्सिङ विषयमा स्नातक अध्ययन पूरा गरेकी थिइन्। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय उनी स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा काम गर्दै आएकी थिइन्। राजनीतिमा आउनुअघि उनले राष्ट्रिय महिला भलिबल टोलीबाट समेत देशको प्रतिनिधित्व गरेकी थिइन्।
त्यस्तै, कामीछिरिङ तामाङ सामाजिक गतिविधिमा सक्रिय रहँदै २०७९ को स्थानीय तह निर्वाचनमा वडा नं २ को वडाध्यक्षमा निर्वाचित भएका थिए। वडा नं ५ का वडाध्यक्ष दावामिङ्मार तामाङ पनि लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय थिए।
गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले एकैपटक तीन जना जनप्रतिनिधि बेपत्ता हुनु गाउँपालिकाका लागि ठूलो क्षति भएको बताए। उनका अनुसार उनीहरू स्थानीयस्तरमा जनतासँग नजिक रहेर काम गर्ने सक्रिय र लोकप्रिय जनप्रतिनिधिका रूपमा परिचित थिए।
भदौ १० गते गोसाइँकुण्ड गाउँपालिका–२ स्थित घट्टेखोला, टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको थियो। बाढीले बजार, घर तथा विभिन्न भौतिक संरचनामा व्यापक क्षति पुर्याएको थियो।
बाढी गएको एक महिना बितिसक्दा पनि बेपत्ता जनप्रतिनिधिसहित अन्य व्यक्तिको अवस्था पत्ता लाग्न सकेको छैन। गाउँपालिकाका कर्मचारी, शिक्षक–शिक्षिका तथा बालबालिकासमेत बाढीपछि बेपत्ता छन्।
बेपत्ताहरूको खोजीकार्य जारी रहे पनि परिवारजन भने लामो प्रतीक्षापछि शोकको अवस्थामा पुगेका छन्। सिङ्गो रसुवा अहिले पनि बाढीबाट भएको जनधनको क्षति र बेपत्ताको पीडामा छ।





