वर्षाका कारण नेपाल–जापान खेल रद्द, नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा

काठमाडौं । २०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापानबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ ।

वर्षाका कारण निर्धारित समयभन्दा करिब एक घण्टा ढिला सुरु भएको खेललाई १५ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाउँदै १४९ रनको योगफल तयार गरेको थियो ।

नेपालका लागि सन्दीप जोराले ३२ बलमा ५७ रन तथा लोकेश बमले २२ बलमा ५२ रन बनाएर अविजित रहे । आसिफ शेखले २१ रनको योगदान दिए ।

जापानका रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले समान एक–एक विकेट लिए ।

नेपालको इनिङ सकिएलगत्तै पुनः वर्षा सुरु भएपछि मैदान ढाकिएको थियो । लगातारको वर्षाका कारण जापानले ब्याटिङ गर्ने दोस्रो इनिङ सुरु हुन सकेन र खेल नतिजाविहीन बनेको हो ।

खेलबाट एक अंक पाएसँगै नेपालले समूह ‘ए’ मा दुई खेलबाट तीन अंक जोडेको छ । नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । अफगानिस्तान दुई अंकसहित समूह उपविजेता बनेको छ ।

अब क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ भने अफगानिस्तानले भारतको सामना गर्नेछ।