दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी । कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारण लाइनका टावर बगाएपछि म्याग्दी र मुस्ताङमा सञ्चालित छवटा जलविद्युत् आयोजना बन्द भएका छन्।

प्रसारण लाइनका टावर तथा तारमा क्षति पुगेपछि केन्द्रीय विद्युत् प्रणालीमा विद्युत् आपूर्ति गर्दै आएका कुल १७६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाको उत्पादन प्रभावित भएको हो।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेका ५ मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको म्रिस्त्रीखोला, ३८ मेगावाटको निलगिरी–१, ७१ मेगावाटको निलगिरी–२ र ६ मेगावाटको रेलेखोला जलविद्युत् आयोजना प्रसारण लाइनमा आएको क्षतिका कारण बन्द भएका छन्। त्यस्तै, मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् पनि हाल केन्द्रीय प्रणालीमा जोडिन सकेको छैन।

यसअघि नै अन्नपूर्ण गाउँपालिका–४ पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पहिरोले पुरिएपछि गत साउनको अन्तिम सातादेखि उत्पादन बन्द छ।

अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष ओम फगामीका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिका–१ दोवाको भिरकाटेपारिका दुईवटा तथा धिरच्याङको एउटा प्रसारण लाइन टावर बगाएको छ।

बाढीले प्रसारण संरचनामा क्षति पुर्‍याउनुका साथै कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्डमा समेत व्यापक क्षति गरेको छ। विभिन्न स्थानमा सडक कटान, भासिने र पहिरो खस्ने समस्या देखिएपछि पैदल आवागमनसमेत कठिन बनेको छ।

बेनीबाट पैदल यात्रा गर्दै सोमबार पोखरेबगर हुँदै शिख पुगेका सञ्चारकर्मी गणेश गुरुङ (सुरेन)का अनुसार बेनी–पोखरेबगर सडकखण्डका थुप्रै ठाउँमा सडक भासिएको तथा कटान भएको छ। सडकमा पहिरो थुप्रिनुका साथै विद्युत्का तार र पोलमा समेत क्षति पुगेको उनले बताए।

बाढीपहिरोका कारण अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज र ६६ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजना पनि प्रभावित भएका छन्।

नेपाल विद्युत् प्राधिकरण पोखरा ग्रिडका प्रमुख रोशन खड्काले अन्नपूर्ण गाउँपालिका–३ दानादेखि पोखरेबगरसम्मको क्षेत्रमा रहेका प्रसारण लाइनका टावरमा विपद्का कारण क्षति पुगेको जानकारी दिए। क्षतिको वास्तविक अवस्था पहिचान गर्न प्राविधिक टोलीलाई स्थलमार्गबाट घटनास्थलतर्फ पठाइएको उनले बताए।

उनका अनुसार म्याग्दीको उत्तरी क्षेत्र तथा मुस्ताङमा विद्युत् आपूर्ति सुचारु गर्न वैकल्पिक व्यवस्था खोज्नुका साथै क्षतिग्रस्त प्रसारण लाइनको पुनर्निर्माणको कामलाई पनि सँगसँगै अघि बढाउने तयारी भइरहेको छ।

यसअघि निर्माण भएको ३३ केभी क्षमताको प्रसारण लाइनको संरचनामा समेत बाढीपहिरोले क्षति पुर्‍याएको छ। दाना सबस्टेशनबाट मुस्ताङतर्फ विद्युत् आपूर्ति गराउने प्रयास भइरहेको भए पनि टावरमा भएको क्षतिको अवस्था यकिन गर्न सडक तथा सञ्चार सम्पर्कमा आएको समस्याले कठिनाइ भएको प्राधिकरणले जनाएको छ।

बाढीपहिरोका कारण मुस्ताङको सडक यातायातसमेत प्रभावित भएर जिल्लाको बाह्य सम्पर्क विच्छेद भएको छ। विद्युत् आपूर्ति अवरुद्ध हुँदा मोबाइल तथा इन्टरनेट सेवा प्रभावित भएपछि स्थानीयको जनजीवन थप कठिन बनेको छ।

मुस्ताङसँगै म्याग्दी र बागलुङका ग्रामीण क्षेत्रमा पनि बाढीपहिरोका कारण विद्युत्, सडक तथा यातायात सेवा प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ।