काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा क्षति पुग्दा करिब ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएपछि सरकारले काठमाडौंको विद्युत् आपूर्ति व्यवस्थापनका लागि वैकल्पिक प्रणाली विकास गर्ने तयारी थालेको छ।
बाढीका कारण त्रिशूली करिडोर हुँदै काठमाडौंको बालाजु र चपली क्षेत्रमा आउने विद्युत् आपूर्ति प्रभावित भएपछि अन्य प्रसारण लाइनमा चाप बढेको छ। आगामी हिउँदमा विद्युत्को माग बढ्ने भएकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक आपूर्ति प्रणालीको तयारी अघि बढाएको हो।
मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको विद्युत् व्यवस्थापनका लागि ‘टास्क फोर्स’ गठन गरी काम गरिरहेको छ। हिउँदमा बढ्ने विद्युत् मागलाई सहज रूपमा व्यवस्थापन गर्न वैकल्पिक आपूर्ति प्रणाली विकास गर्ने विषयमा आवश्यक गृहकार्य भइरहेको उनले बताए।
यसैक्रममा मन्त्रालयले मंगलबार सडक विभाग र काठमाडौं महानगरपालिकासँग थप भूमिगत विद्युत् ग्रिड निर्माण तथा हाल सञ्चालनमा रहेका भूमिगत प्रणालीलाई थप विश्वसनीय बनाउने विषयमा छलफल गरेको छ।
प्रवक्ता शाक्यका अनुसार केही क्षेत्रमा भूमिगत वैकल्पिक विद्युत् ग्रिडको विश्वसनीयता बढाउने तथा थप भूमिगत ग्रिड निर्माणका लागि सडक विभाग र काठमाडौं महानगरपालिकासँग निश्चित कार्यतालिकासहित सहकार्य गर्ने विषयमा छलफल भएको हो। उनले हिउँदमा विद्युत्को माग बढ्ने भएकाले त्यसको व्यवस्थापनका लागि पूर्वतयारीलाई तीव्रता दिइएको बताए।
छलफलमा सडक विभागका काठमाडौं डिभिजन प्रमुख सुवोध देवकोटाले भूमिगत ग्रिड निर्माणका लागि विभागका तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए। काठमाडौं महानगरपालिकाका सार्वजनिक निर्माण विभाग प्रमुख सुरेशकुमार राईले फुटपाथभित्र भूमिगत तार व्यवस्थापन गर्न आवश्यक सहकार्य गर्ने बताए।
नेपाल विद्युत् प्राधिकरणका आयोजना निर्देशनालयका प्रमुख दुर्गानन्द बडियातले काठमाडौं उपत्यकामा भइरहेको भूमिगत तार व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै वितरण तथा ग्राहक सेवा निर्देशनालयको हिउँदे माग व्यवस्थापनको आवश्यकताअनुसार सहकार्य गर्ने बताए।
बैठकमा काठमाडौंको विद्युत् लोड व्यवस्थापन तथा आवश्यक कार्ययोजनाबारे बागमती वितरण तथा ग्राहक निर्देशनालयका प्रमुख मुनिन्द्र ठाकुरले प्रस्तुतीकरण गरेका थिए। उनले प्राधिकरणले ‘टास्क फोर्स’ गठन गरी हिउँदे विद्युत् माग व्यवस्थापनको तयारी अघि बढाएको जानकारी दिए।
प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले काठमाडौंको हिउँदे विद्युत् माग व्यवस्थापनका लागि सम्बन्धित सबै निकायबीच उच्चस्तरीय समन्वय र सहकार्य आवश्यक रहेको बताए। हिउँदमा विद्युत् प्रणालीमा पर्न सक्ने चापलाई सहज रूपमा व्यवस्थापन गर्न मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको उनले जानकारी दिए।






