राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती

राँझा । बाँकेको राप्ती नदी किनारमा निर्माण गरिएको पक्की तटबन्धका कारण तटीय क्षेत्रका बस्ती तथा खेतीयोग्य जमिन बाढी र कटानको जोखिमबाट क्रमशः सुरक्षित हुँदै गएका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी नियन्त्रणका लागि निर्माण गरेको तटबन्धले वर्षौँदेखि डुबान र कटानको त्रासमा रहेका स्थानीयमा आशा जगाएको छ ।

राप्ती नदीको तीव्र कटान र डुबानको जोखिममा रहेका राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका क्षेत्रमा तीन किलोमिटरभन्दा बढी पक्की तटबन्ध निर्माण सम्पन्न भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय लमही, दाङले जनाएको छ । आयोजनाका प्रमुख निश्चल छत्कुलीका अनुसार तटबन्ध निर्माणपछि सयौँ बिघा खेतीयोग्य जमिन तथा हजारौँ स्थानीयको बसोबास सुरक्षित भएको छ ।

उनका अनुसार गत आर्थिक वर्षमा मात्रै बाँकेका विभिन्न जोखिमयुक्त क्षेत्रमा तीन हजार १५० मिटर पक्की तथा ४०० मिटर अस्थायी तटबन्ध निर्माण गरिएको थियो । राप्ती नदीको तीव्र बहावका कारण हरेक वर्ष हुने खेतीयोग्य जमिनको कटान र बस्ती विस्थापन रोक्न नदी नियन्त्रणको कामलाई प्राथमिकताका साथ अघि बढाइएको उनले बताए ।

गत आवमा राप्तीसोनारी गाउँपालिका–२ कचनापुरमा एक हजार २०० मिटर र वडा नं ५ बिनौनामा एक हजार ३०० मिटर पक्की तटबन्ध निर्माण गरिएको छ । यस्तै वडा नं ७ खल्ला झगडियामा ५०० मिटर र वडा नं ६ ढलैयामा १५० मिटर पक्की तटबन्ध निर्माण भएको आयोजनाले जनाएको छ ।

तटबन्ध निर्माण सम्पन्न भएपछि यस वर्ष राप्तीसोनारी–२ का कचनापुर, महादेवा र मदुई, वडा नं ६ को फत्तेपुर, वडा नं ७ को खल्ला झगडिया तथा नरैनापुर गाउँपालिका–५ र ६ अन्तर्गतका बस्ती बाढीको जोखिमबाट जोगिएका छन् ।

आयोजनाले गत आवमै राप्तीसोनारीको जरैयामा बेम्बो माइलिङ र चचरी प्रविधिबाट करिब ४०० मिटर अस्थायी नदी नियन्त्रणको कामसमेत गरेको थियो । आयोजना प्रमुख छत्कुलीका अनुसार चालु आवमा पनि तटबन्ध निर्माणलाई निरन्तरता दिइएको छ ।

‘यो वर्ष पनि हामीले काम सुरु गरिसकेका छौँ । तटबन्ध निर्माणका लागि ढुङ्गा सङ्कलनको काम भइरहेको छ,’ उनले भने, ‘गत वर्ष निर्माण सम्पन्न भएका पक्की तटबन्धका कारण यस वर्ष गाउँबस्ती सुरक्षित भएका छन् ।’

तटबन्ध निर्माणअघि राप्तीसोनारीको खल्ला झगडिया, देउपुर्वा तथा नरैनापुरका गङ्गापुर, सोनवर्षा, कुदर–वेटवा र कुडुवालगायतका बस्ती राप्ती नदीको उच्च जोखिममा थिए । सामान्य वर्षा हुँदा पनि नदी बस्तीमा पस्ने त्रासका कारण स्थानीयवासी रातभर जाग्राम बस्नुपर्ने अवस्था थियो ।

तर, यस वर्ष निर्माण सम्पन्न भएका पक्की तटबन्धले नदीको बहावलाई सुरक्षित किनारतर्फ व्यवस्थापन गर्न सहयोग गरेपछि जोखिममा कमी आएको स्थानीयको भनाइ छ ।

राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारूले पछिल्लो समय परेको भारी वर्षा र राप्ती नदीमा आएको बाढीका बाबजुद कचनापुर, महादेवा, मदुई, फत्तेपुर, खल्ला झगडिया तथा नरैनापुर–५ र ६ का बस्ती सुरक्षित रहेको बताए ।

‘खल्ला झगडियामा निर्माण भएको ५०० मिटरको स्थायी तटबन्धले केही दिनअघि आएको ठूलो वर्षा र बाढीमा पनि किनारका धेरै गाउँलाई जोगाएको छ,’ उनले भने, ‘पहिले पानी पर्नेबित्तिकै भागाभाग गर्नुपर्ने अवस्था थियो । अब नदी किनारका बासिन्दाले रातभर जाग्राम बस्नुपर्ने बाध्यता हट्ने आशा पलाएको छ ।’

गत वर्ष निर्माण गरिएका संरचनाले सकारात्मक परिणाम देखाएपछि आयोजनाले चालु आर्थिक वर्षमा पनि नदी नियन्त्रणको कामलाई निरन्तरता दिएको छ । आयोजना प्रमुख छत्कुलीका अनुसार नयाँ चरणका तटबन्ध निर्माणका लागि निर्माणस्थलमा ढुङ्गा सङ्कलन तथा अन्य प्राविधिक तयारी भइरहेको छ।