म्याग्दी । पछिल्लो समयको अविरल वर्षाका कारण अवरुद्ध बनेको बेनी–बाबियाचौर सडक चार दिनपछि सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएपछि म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहका बासिन्दालाई जिल्ला सदरमुकाम बेनी आउजाउ गर्न सहज भएको छ ।
पूर्वाधार विकास कार्यालयले बेनीदेखि मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर हुँदै पानाबगरसम्मको करिब १६ किलोमिटर सडक मर्मत गरी मंगलबार साँझदेखि यातायात सञ्चालनमा ल्याएको हो ।
यसैगरी धवलागिरि, मालिका र मङ्गला गाउँपालिका तथा बागलुङको तमानखोला गाउँपालिकालाई जोड्ने बेनी–दरबाङ सडकअन्तर्गत बाङ्गेपहिरोसम्मको करिब २४ किलोमिटर सडकखण्डमा पनि मर्मतको काम भइरहेको छ ।
असोज १० गतेदेखि सडक अवरुद्ध हुँदा म्याग्दीको पश्चिमी क्षेत्रको जनजीवन प्रभावित बनेको थियो । पूर्वाधार विकास कार्यालयमार्फत उपकरण परिचालन गरी बेनी–पानाबगर खण्ड खुलाइएको हो । अब पानाबगर–रणबाङ–दुखु–रातोढुङ्गा–तोलाबाङ–बाङ्गेपहिरो खण्डमा दुईतर्फबाट मर्मत कार्यलाई तीव्रता दिइने म्याग्दी–१(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले जानकारी दिए ।
“पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतसँगै जनजीवन सहज बनाउन मुख्यमन्त्री तथा भौतिक मन्त्रालयसँग समन्वय गरेर जतिसक्दो चाँडो सडक सञ्चालनमा ल्याउन जुटेका छौँ,” उनले भने, “तीन दिनमै बाबियाचौरसम्म सडक खुलाउन सफल भएका छौँ ।”
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका विभिन्न स्थानमा उपलब्ध उपकरण परिचालन गरी सडक मर्मतलाई तीव्रता दिन आफू स्थलगत रूपमा खटिएको जुग्जालीले बताए ।
स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले आ–आफ्नो मातहतका सडक मर्मत गरी यथाशीघ्र यातायात सञ्चालन गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार तीनै तहका जनप्रतिनिधि तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए ।
यसैबीच, रसुवामा आएको बाढीपछि चीनसँगको मुख्य व्यापारिक नाका कोरला जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्डमा समेत क्षति पुगेको छ । तिल्केनीचौरमा कालीगण्डकीले सडक कटान गरेको छ भने पोखरेबगरमा सडक पुलको पहुँचमार्ग र खामभित्तामा समेत क्षति पुगेको छ ।
क्षतिको विवरण सङ्कलन गरी सडक मर्मत अघि बढाउन सङ्घीय सरकारले खटाएको प्राविधिक टोली मंगलबार म्याग्दी पुगेको प्रजिअ गैरेले बताए । बेनी–जोमसोम सडक अवरुद्ध भएपछि मुस्ताङको यातायात सम्पर्क प्रभावित भएको छ ।
सडक अवरुद्ध हुँदा कोरला नाकाबाट हुने आयात–निर्यातसमेत प्रभावित भएको छ । मुस्ताङबाट स्याउ र च्याङ्ग्रा बजार पठाउन समस्या भएको छ । सोह्रश्राद्धका बेला कागबेनीमा हुने पितृ तर्पण तथा शरद् यामको पर्यटकीय गतिविधिमा समेत सडक अवरोधले असर पार्ने देखिएको छ ।






