काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा दुई पाइलटबीच हिंसात्मक घटना भएपछि विमानलाई साउदी अरेबियातर्फ डाइभर्ट गरिएको छ । घटनाबारे सीएनएनले स्रोतलाई उद्धृत गर्दै जनाएको छ।
उडानका क्रममा विमान करिब ३४ हजार फिटको उचाइमा रहेका बेला दुई मिनेटभित्रै उचाइ घटेर करिब १६ हजार ६ सय फिटमा पुगेको फ्लाइट ट्र्याकिङ तथ्यांकले देखाएको छ । यो घटना स्थानीय समयअनुसार राति करिब १ः२० बजे भएको जनाइएको छ।
घटनाको करिब १२ मिनेटपछि विमानबाट आपत्कालीन संकेत पठाइएको थियो । त्यसपछि विमानको गन्तव्य परिवर्तन गरी साउदी अरेबियातर्फ मोडिएको हो।
इजरायली अधिकारीहरूले भने विमान अपहरणमा परेको नभई विमानभित्रै कर्मचारीबीच भएको घटनाका रूपमा यसलाई व्याख्या गरेका छन् ।
आपत्कालीन संकेत प्राप्त भएपछि इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीले सुरक्षा परामर्श गरेका थिए । इजरायली रक्षा बल (आईडीएफ) का प्रवक्ताका अनुसार घटनापछि इजरायली लडाकु विमानसमेत परिचालन गरिएको थियो ।
फ्लाईदुबईको विमान साउदी अरेबियामा अवतरण गर्ने तयारीमा रहेको जनाइएको छ । घटनाबारे फ्लाईदुबईसँग प्रतिक्रिया लिन प्रयास भइरहेको समाचारमा उल्लेख छ।






