प्रधानमन्त्री शाहले सांसदलाई तीन तहमा वर्गीकरण गर्दै भने– ‘इन्जिनियर एक्स्ट्रा अर्डिनरी हुन्’

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सांसदहरूलाई उनीहरूको अभिव्यक्ति र विज्ञताका आधारमा तीन तहमा वर्गीकरण गरेका छन् ।

बुधबार इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग छलफल गर्दै प्रधानमन्त्री शाहले सांसदहरूलाई ‘एभरेज’, ‘एभरेजभन्दा तल’ र ‘एक्स्ट्रा अर्डिनरी’ गरी तीन समूहमा विभाजन गरेर व्याख्या गरेका हुन् ।

प्रधानमन्त्री शाहले इन्जिनियर पृष्ठभूमिका सांसदहरूलाई ‘एक्स्ट्रा अर्डिनरी’ समूहमा राख्दै उनीहरूले देश निर्माणका लागि नयाँ सोच, विचार र सिर्जनात्मक योजना प्रस्तुत गर्नुपर्ने बताएका थिए ।

छलफलमा सहभागी एक सांसदका अनुसार प्रधानमन्त्री शाहले भनेका थिए, ‘इन्जिनियर भनेको एक्स्ट्रा अर्डिनरी हो । एभरेज मान्छेहरू इभेन्टको कुरा गर्छन् । त्योभन्दा तलकोले मलाई यो गर, त्यो गर भन्छन् ।’

इन्जिनियर सांसदहरूलाई लक्षित गर्दै उनले भने, ‘एक्स्ट्रा अर्डिनरी भएकाले तपाईंहरूले आइडिया र क्रियटिभिटीको कुरा उठाउनुपर्छ । यो गरे देश बन्छ भनेर भन्नुपर्छ । तपाईंहरूको आइडियाले देश बन्छ।’

छलफलका क्रममा प्रधानमन्त्री शाहले औद्योगिकीकरणका लागि सरकारले के गर्न सक्छ भन्ने विषयमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूबाट नयाँ सुझाव र योजना मागेका थिए ।

उनले संसद्मा उठाइने विषयमा सम्बन्धित मन्त्रालय, मन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग समन्वय गर्न सकिने बताए । ‘केही आइडिया हुँदा प्रधानमन्त्री कार्यालयसँग सम्पर्क गर्न सकिन्छ । आइडिया हुनेहरूसँग सहजै भेट हुनेछ,’ उनले भने ।

प्रधानमन्त्री शाहले सरकारले केही नयाँ विधेयक ल्याउने तयारी गरिरहेको जानकारी दिँदै त्यसमा सांसदहरूको सुझाव र सहयोग आवश्यक रहेको बताएका थिए ।

‘अब सांसदहरूको नै विधेयकमा इनपुट रहन्छ । देखेको र भोगेको आधारमा कानुन लिएर आउँछौं । यसमा तपाईंहरूको साथ र सहयोग चाहिन्छ,’ उनले भने ।