काठमाडौँ- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालन र हिउँदको विद्युत् माग व्यवस्थापनका लागि काठमाडौँका विभिन्न स्थानमा असोज १५ देखि २६ गतेसम्म विद्युत् आपूर्ति कटौती गरिने भएको छ। कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् कटौती गरी प्राविधिक कार्य गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार असोज १५ गते सतुंगल बौथली, १६ गते मच्छेगाउँ दोभान र खुसी चोक, १७ गते मुलपानी, १८ गते गर्जुधारा र २० गते पुनः मुलपानी क्षेत्रमा विद्युत् कटौती हुनेछ। त्यसैगरी, असोज २१ गते बलम्बु, २२ गते कोटेश्वर-बालकुमारी, २४ गते सिफल, २५ गते सतुंगल धौलागिरी आवास र २६ गते धोबीखोला क्षेत्रमा काम गरिनेछ। प्रतिकूल मौसम भएमा भने विद्युत् कटौती गरिने छैन।
विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने उद्देश्यले प्राधिकरणले चरणबद्ध रूपमा काम गरिरहेको छ। यसअघि रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रबाट सुरु भएको यो कार्य हाल काठमाडौँका बाँकी सहरी क्षेत्र, ललितपुर, भक्तपुर, पोखरा र भरतपुरमा विस्तार गरिएको छ। यस आयोजनाअन्तर्गत ३३ केभी, ११ केभी र ४०० भोल्टेजका लाइनहरू भूमिगत गरिनुका साथै अप्टिकल फाइबरसमेत बिछ्याइनेछ। भूमिगत प्रणालीले विद्युत् आपूर्तिको विश्वसनीयता र सुरक्षा बढाउनुका साथै सहरी क्षेत्रमा जथाभाबी रहेका तारहरू हटाई सहरी सौन्दर्य कायम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।





