काठमाडौं । सन् २०२६ को सेप्टेम्बर महिनामा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या १२.१ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बरमा ८८ हजार २४८ अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन्।
अध्यागमन विभागको तथ्याङ्कमा आधारित बोर्डको रिपोर्टअनुसार सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल आएका थिए। गत वर्षको तुलनामा यस वर्ष ९ हजार ५३७ जना बढी पर्यटक नेपाल आएका हुन्।
समग्र पर्यटक आगमन बढे पनि क्षेत्रगत रूपमा भने मिश्रित अवस्था देखिएको छ। दक्षिण एसिया तथा अन्य एसियाली बजारबाट पर्यटक आगमन बढ्दा युरोप, अमेरिका र ओसियाना क्षेत्रबाट आउने पर्यटकको सङ्ख्या घटेको छ।
सार्क राष्ट्रबाट २३.९ प्रतिशत वृद्धि
सेप्टेम्बरमा नेपाल आएका कुल पर्यटकमध्ये ३४.०९ प्रतिशत अर्थात् ३० हजार ८५ जना सार्क राष्ट्रबाट आएका छन्। यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.९ प्रतिशत बढी हो।
सार्क क्षेत्रबाट भारतले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ। सेप्टेम्बरमा १७ हजार ४२५ भारतीय पर्यटक नेपाल आएका छन्, जुन कुल पर्यटक आगमनको १९.७५ प्रतिशत हो। भारतीय पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बढेको छ।
श्रीलङ्काबाट ७ हजार १०८ पर्यटक आएका छन् भने बङ्गलादेशबाट ३ हजार ९६४ पर्यटक नेपाल आएका छन्। श्रीलङ्काली पर्यटकको सङ्ख्या ५४ प्रतिशत र बङ्गलादेशी पर्यटकको सङ्ख्या ३१.५ प्रतिशतले बढेको छ। भुटानबाट १ हजार १११ र पाकिस्तानबाट ४२९ पर्यटक आएका छन्।
चिनियाँ पर्यटकमा दोब्बरभन्दा बढी वृद्धि
सार्कबाहेकका अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्या ५८ प्रतिशतले बढेको छ। यस क्षेत्रबाट सेप्टेम्बरमा १९ हजार ८८८ पर्यटक नेपाल आएका छन्।
यस वृद्धिमा चीनको योगदान उल्लेख्य रहेको छ। सेप्टेम्बर २०२६ मा चीनबाट ११ हजार २१२ पर्यटक नेपाल आएका छन्। सन् २०२५ को सेप्टेम्बरमा चीनबाट ५ हजार २३७ पर्यटक आएका थिए। यस आधारमा चिनियाँ पर्यटक आगमन ११४.१ प्रतिशतले बढेको हो।
त्यस्तै जापानबाट २ हजार ६६ पर्यटक आएका छन्, जुन ४५.४ प्रतिशतको वृद्धि हो। मलेसियाबाट १ हजार ८७७ र दक्षिण कोरियाबाट १ हजार ४१२ पर्यटक आएका छन्। यी मुलुकबाट आउने पर्यटक क्रमशः १२.२ प्रतिशत र ४.३ प्रतिशतले बढेका छन्। भने थाइल्यान्ड र भियतनामबाट आउने पर्यटकमा करिब ११ प्रतिशत गिरावट आएको छ।
युरोपेली बजारमा गिरावट
एसियाली बजार विस्तार भइरहँदा युरोप, अमेरिका र ओसियानाबाट आउने पर्यटकको सङ्ख्या घटेको छ। कुल पर्यटक आगमनमा १७.१७ प्रतिशत हिस्सा रहेको युरोपबाट सेप्टेम्बरमा १५ हजार १४८ पर्यटक आएका छन्। यो अघिल्लो वर्षको तुलनामा ८.७ प्रतिशत कम हो।
युरोपबाट बेलायतका ३ हजार ७२५ पर्यटक नेपाल आएका छन्। तर, बेलायती पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा २५.२ प्रतिशतले घटेको छ। जर्मनीबाट १ हजार ९७४, फ्रान्सबाट १ हजार ३८९ र स्पेनबाट १ हजार १२० पर्यटक आएका छन्।
यद्यपि रुस, इटाली र चेक रिपब्लिकबाट आउने पर्यटक भने क्रमशः १८.४ प्रतिशत, २०.४ प्रतिशत र १५.७ प्रतिशतले बढेका छन्।
अमेरिका र अस्ट्रेलियाबाट पनि घटे पर्यटक
अमेरिकी महादेशबाट आउने पर्यटकको सङ्ख्या १२.३ प्रतिशतले घटेर १० हजार १०७ मा झरेको छ। अमेरिकाबाट मात्रै ८ हजार २९९ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १४.३ प्रतिशत कम हो।
क्यानडाबाट आउने पर्यटकको सङ्ख्या पनि १५.५ प्रतिशतले घटेर १ हजार २२४ मा सीमित भएको छ।
त्यस्तै, ओसियाना क्षेत्रबाट आउने पर्यटकको सङ्ख्या २९ प्रतिशतले घटेको छ। यस क्षेत्रबाट कुल ५ हजार ४२२ पर्यटक नेपाल आएका छन्, जसमा अस्ट्रेलियाबाट मात्रै ४ हजार ८४२ जना छन्।
मध्यपूर्व र अफ्रिकाबाट आगमन बढ्यो
मध्यपूर्वी मुलुकबाट आउने पर्यटकको सङ्ख्या भने ११.९ प्रतिशतले बढेर २ हजार ६०६ पुगेको छ। यसमध्ये इजरायलबाट मात्रै १ हजार ९५७ पर्यटक नेपाल आएका छन्।
अफ्रिकी मुलुकबाट आउने पर्यटकको सङ्ख्या तुलनात्मक रूपमा कम भए पनि २३.३ प्रतिशतले वृद्धि भएको छ। सेप्टेम्बरमा अफ्रिकाबाट ४२४ पर्यटक नेपाल आएका छन्।
अन्य वर्गीकृत नभएका मुलुकबाट भने ४ हजार ५६८ पर्यटक नेपाल आएका छन्। तथ्याङ्कले सेप्टेम्बरमा नेपालको पर्यटन आगमनमा एसियाली बजारको वृद्धि र पश्चिमी तथा लामो दूरीका बजारको गिरावट एकैसाथ देखिएको छ।






