काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको छ। आगामी मंसिर २१ देखि २३ गतेसम्म हुने केन्द्रीय महाधिवेशनको तयारीस्वरूप आजदेखि वडा अधिवेशन सुरु गरिएको हो।
केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जारी गरेको विज्ञप्तिअनुसार देशभरका कुल ६ हजार ७४३ वडामध्ये हालसम्म ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको हो।
प्रदेशगत रूपमा कोशी प्रदेशमा ५७७, मधेसमा ४०२, बागमतीमा ५६३, गण्डकीमा ३८६, लुम्बिनीमा ५५०, कर्णालीमा २५७ र सुदूरपश्चिम प्रदेशमा ४५६ वडामा अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ।
बाँकी वडामा यही असोज १८ गतेसम्म अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको छ।
समितिका अनुसार रसुवा र बागलुङका केही वडामा भने आजको अधिवेशन स्थगित भएको छ। रसुवामा बाढीपहिरोका कारण तथा बागलुङमा पार्टी नेता मणिभद्र शर्मा कँडेलकी श्रीमतीको निधनका कारण अधिवेशन हुन नसकेको हो। ती वडाको अधिवेशन भोलि असोज १६ गते गर्ने तय गरिएको समितिले जनाएको छ।






