सीमा सुरक्षामा नेपाल-भारत सुरक्षा अधिकारीबिच समन्वय बढाउने सहमति

धनुषा । नेपाल–भारत सीमाको सुरक्षा व्यवस्थापन, सूचना आदानप्रदान तथा सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका विषयमा दुवै देशका सुरक्षा अधिकारीबीच छलफल भएको छ।

धनुषाको नगराइन नगरपालिका–२ स्थित जटही सीमानाकामा भारतको ४८औँ बटालियन सशस्त्र सीमा बल (एसएसबी) जयनगरले आयोजना गरेको समन्वय बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको हो।

बैठकमा नेपाली पक्षको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका थिए भने भारतीय पक्षको नेतृत्व ४८औँ बटालियन एसएसबी जयनगरका कमान्डेन्ट राजेन्द्रकुमारले गरेका थिए।

बैठकमा खुला सीमाका कारण उत्पन्न हुनसक्ने सुरक्षा चुनौती, सीमावर्ती क्षेत्रमा हुने तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण, सूचना आदानप्रदान र दुवै देशका सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको महानिरीक्षक पौडेलले जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले मधेस प्रदेशमा सशस्त्र प्रहरीले सीमा सुरक्षाका क्षेत्रमा गरिरहेको काम तथा सीमावर्ती क्षेत्रमा देखिएका सुरक्षा चुनौतीबारे भारतीय सुरक्षा अधिकारीसँग छलफल गरिएको बताए।

उनका अनुसार खुला सीमा रहेकाले सीमासँग सम्बन्धित समस्या समाधान गर्न नेपाल र भारतका सुरक्षा निकायबीच नियमित सम्पर्क र समन्वय आवश्यक छ। सम्भावित सुरक्षा चुनौतीबारे समयमै सूचना आदानप्रदान गरी आवश्यक कदम चाल्ने विषयमा बैठकमा विशेष जोड दिइएको उनले बताए।

“सीमा क्षेत्रमा दुवै देशको सुरक्षाका लागि कसरी प्रभावकारी रूपमा काम गर्ने भन्ने विषयमा छलफल भएको छ,” पौडेलले भने।

सीमावर्ती क्षेत्रमा कुनै सुरक्षा समस्या उत्पन्न भए तत्काल आपसी सम्पर्क र समन्वय गर्ने तथा शान्ति र सुव्यवस्था कायम राख्न सहकार्यलाई निरन्तरता दिने विषयमा दुवै पक्षबीच समझदारी भएको जनाइएको छ।

बैठकमा सीमा क्षेत्रमा हुने तस्करी, अवैध आवतजावत तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि सूचना आदानप्रदान र स्थानीय तहमा समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा पनि जोड दिइएको थियो।

खुला सीमाका कारण दुवै देशका नागरिकबीच सामाजिक, पारिवारिक तथा आर्थिक सम्बन्ध रहेकाले नागरिकको सहज आवतजावतलाई कायम राख्दै सीमा सुरक्षालाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।

बैठकमा नेपाली पक्षबाट सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुबहादुर भट्ट, वरिष्ठ प्रहरी उपरीक्षक कमलप्रसाद तिमल्सिना, प्रहरी उपरीक्षक भीमबहादुर बिष्ट, प्रहरी उपरीक्षक पंकज पौडेल, प्रहरी नायब उपरीक्षक खेमराज बोगटी र प्रहरी निरीक्षक श्रीराम घिसिङलगायत सहभागी थिए।

भारतीय पक्षबाट ४८औँ बटालियन एसएसबी जयनगरका द्वितीय इन कमान्ड तथा वरिष्ठ अधिकारी रजनिषकुमार मोरल, सहायक कमान्डेन्ट (इन्टेलिजेन्स) तथा थाना प्रभारी अङ्कुशकुमार र पिपरौनका सहायक कमान्डेन्ट धनञ्जय मिश्रलगायत सहभागी थिए।

बैठकमा सीमा क्षेत्रमा शान्ति तथा सुरक्षा कायम राख्न नियमित सम्पर्क, आपसी समन्वय र सूचना आदानप्रदानलाई निरन्तरता दिने विषयमा दुवै पक्षले प्रतिबद्धता जनाएका छन्।