रेलेखोलाको बाँधमा बाढी पसेपछि विद्युत् उत्पादन बन्द

म्याग्दी । बाढीले बाँधमा क्षति पुर्‍याएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बन्द भएको छ।

ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाको रेलेखर्कको फेदीमा रहेको बाँधमा बाढी पस्दा भौतिक संरचनामा क्षति पुगेपछि विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको हो।

आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण आयोजनाको विद्युत् उत्पादन बन्द भएको हो।

रेलेखर्क क्षेत्रमा पहिरो खसेपछि रेलेखोलामा बाढीको सतह बढेको र त्यससँगै आएको लेदो तथा ढुंगामाटो बाँध क्षेत्रमा थुप्रिएको छ। दुर्गम तथा विकट क्षेत्रमा रहेको बाँधस्थलसम्म पुग्ने पहुँचमार्गसमेत पहिरोका कारण अवरुद्ध भएकाले बाढी र लेदो हटाएर आयोजना सञ्चालनमा ल्याउन कठिनाइ भएको काफ्लेले बताए।

बाढीका कारण बाँधका विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ। विद्युत् उत्पादन बन्द हुँदा आयोजनाले विद्युत् बिक्रीबाट हुने आम्दानीसमेत गुमाइरहेको छ।

गत वर्ष निर्माण सम्पन्न भएको उक्त आयोजनाको विद्युत् २२० केभी क्षमताको दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो। यसैबीच, कालीगण्डकी क्षेत्रमा आएको बाढीपहिरोले प्रसारण लाइनका टावर बगाउनुका साथै तार चुँडाएरसमेत क्षति पुर्‍याएको छ।