ज्ञानबहादुर शाहीको प्रश्न– ‘ठूला भ्रष्टाचार काण्डको छानबिन कहाँ पुग्यो?’

काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकारको ६ महिने कार्यकालप्रति प्रश्न उठाउँदै भ्रष्टाचार नियन्त्रण र अपराधमा संलग्नमाथि कारबाही गर्न ढिलाइ नगर्न सरकारलाई आग्रह गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले सत्तापक्षले प्रतिशोधको भावना त्यागेर सुशासन र रोजगारी सिर्जनाका क्षेत्रमा ठोस नीति अघि बढाए आफ्नो दलले बिनासर्त सरकारलाई साथ दिने बताए।

उनले तत्कालीन जनआन्दोलनको भावना र जनताको अपेक्षाअनुसार सरकार अघि बढ्न नसकेको टिप्पणी गरे। आन्दोलनका क्रममा भएका हत्या, हिंसा तथा सिंहदरबार र संसद् भवन तोडफोडका घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकारले उदासीनता देखाएको आरोप पनि उनले लगाए।

शाहीले लामो समयदेखि चर्चामा रहेका एनसेल, गिरीबन्धु टी–स्टेट, भुटानी शरणार्थी प्रकरण र चिनियाँ विमान खरिदसम्बन्धी विषयको छानबिन कहाँ पुगेको हो भन्दै सरकारसँग स्पष्ट जवाफ मागे। कानुनको प्रयोग प्रतिशोधका लागि नभई न्यायका लागि हुनुपर्नेमा उनले जोड दिए।

उनले भने, ‘हामी सरकारका प्रतिपक्षी हौँ, विरोधी होइनौँ। यदि भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने हामी तपाईंहरूकै साथमा छौँ, सडकदेखि संसद्सम्म साथ दिन्छौँ।’

शाहीले सरकारका कमजोरी सत्तापक्षका सांसदले ढाकछोप गर्नुभन्दा सुधारका लागि सही सुझाव दिनुपर्ने बताए। सरकारका गलत कदमको विरोध गर्न आफ्नो दल पछि नहट्ने उनको भनाइ थियो।

रोजगारीको विषयमा पनि गम्भीर ध्यानाकर्षण गराउँदै शाहीले युवाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग माग गरे। युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने र ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने अवधारणासहित संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने उनले बताए।