काठमाडौं: दसैँको लामो बिदामा पारिवारिक भेटघाटसँगै नयाँ ठाउँको अनुभव लिन चाहनेहरूका लागि लमजुङका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलहरू उपयुक्त विकल्प बन्न सक्छन्। यहाँका १० प्रमुख गन्तव्यहरूमा बेँसीसहर नगरपालिका-३ को गाउँसहर दरबार, जहाँ शाहवंशीय राज्यको इतिहास र लमजुङ कालिका मन्दिर छन्। यस्तै, सुन्दरबजार नगरपालिका-११ स्थित तुर्लुङकोट कालिका मन्दिर धार्मिक र प्राकृतिक दृश्यका लागि परिचित छ।
इतिहासप्रेमीहरूका लागि बेँसीसहर-४ को पुरानकोट गढी सामरिक महत्वको स्थल हो भने सोही नगरपालिका-३ मा रहेको काउलेपानी होमस्टे र प्राकृतिक सौन्दर्यका लागि चिनिन्छ। राइनास नगरपालिका-९ को राइनासकोट सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि आकर्षक पहाडी गन्तव्य हो। क्व्होलासोथार गाउँपालिका-३ को घलेगाउँ गुरुङ संस्कृति, परम्परागत बस्ती र हिमाली दृश्यका लागि प्रसिद्ध छ भने सोही गाउँपालिका-४ को भुजुङ गाउँले जीवनशैली बुझ्न चाहनेहरूका लागि उपयुक्त छ।
मर्स्याङ्दी गाउँपालिका-१ र २ मा पर्ने घनपोखरा हिमाली दृश्य र गुरुङ संस्कृतिको सङ्गम स्थल हो। मध्यनेपाल नगरपालिका-७ को करापुटारस्थित इशानेश्वर महादेव मन्दिर धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको छ। त्यस्तै, दूधपोखरी गाउँपालिकाको इलमपोखरी शान्त र रमणीय वातावरण खोज्ने पर्यटकका लागि आकर्षक गन्तव्य मानिन्छ। यी स्थलहरूले लमजुङको इतिहास, धर्म, संस्कृति र ग्रामीण जीवनशैलीको विविधतापूर्ण अनुभव प्रदान गर्छन्।






