अर्थमन्त्री वाग्ले अमेरिका पुगे, अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन्। उनी गएराति वासिङ्टन डीसी पुगेका हुन्।

वासिङ्टन डीसी पुगेका वाग्लेलाई कार्यवाहक नेपाली राजदूत शरदराज आरनसहित दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए।

अमेरिका भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले सोमबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा नेपाल–अमेरिका आर्थिक साझेदारी र सहयोग विस्तारका विषयमा छलफल हुने बताइएको छ।

भेटवार्तामा द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण, नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ग्रे लिस्टबाट बाहिर निकाल्ने प्रयास तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुनेछन्।

यस्तै, हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता जुटाउने विषयमा विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल हुने जनाइएको छ।

सडक, विद्युत् प्रसारण लाइनलगायत महत्वपूर्ण पूर्वाधारमा लगानी विस्तार गर्दै नेपालमा रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने विषयलाई पनि भ्रमणका क्रममा प्राथमिकता दिइनेछ।

अर्थमन्त्री वाग्लेले भ्रमणका क्रममा इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) का उच्चपदस्थ अधिकारी तथा अमेरिकी निजी क्षेत्रका प्रमुख लगानीकर्तासँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।