जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत निर्वाचित

काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन् । वीरगञ्जमा सम्पन्न पार्टीको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राउत ९५८ मत प्राप्त गर्दै अध्यक्ष निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परेको थियो । तर, पार्टीको विधानअनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था भएकाले राउतका पक्षमा पनि मतदान भएको थियो ।

महाधिवेशनमा २६ पदाधिकारीसहित ९९ पदका लागि निर्वाचन भएको थियो ।

उपाध्यक्षतर्फ अनिताकुमारी मण्डल (सिरहा), अनितादेवी साह (धनुषा), नरेन्द्रप्रसाद चौधरी (कपिलवस्तु), बसन्तकुमार कुशवाहा (रौतहट), डा. जयकान्त राउत (सप्तरी), राजयकुमार यादव (सिरहा) र माधवप्रसाद सिंह (पर्सा) निर्वाचित भएका छन् ।

उपाध्यक्षका लागि ११ जना प्रतिस्पर्धामा थिए । परमेश्वर मुर्मु, हरपाल सिंह सोडी, मनोहरा देवी बैठा र रोशन खातुन भने पराजित भएका छन् ।

महासचिवमा सञ्जयकुमार यादव

महासचिव पदमा सञ्जयकुमार यादव निर्वाचित भएका छन् । सिरहाका यादवले ६१८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी ममता झाले २२० र चन्दनकुमार सिंहले १६५ मत पाए ।

झा र सिंहले पार्टी विधानमा तोकिएको २० प्रतिशत मतको थ्रेसहोल्ड पूरा गर्न नसकेको जनमत पार्टीले जनाएको छ ।

उपमहासचिवमा सिरहाका निर्मलकुमार मण्डल ५०१ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी ललितचन्द्र मल्लिकले ४१४ मत प्राप्त गरे ।

त्यस्तै, सचिव पदमा सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन् ।

सात सचिव पदका लागि नौ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । वीरेन्द्र महतो (जीवन त्यागी) र रामबाबु साह भने पराजित भएका छन् ।