काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र राष्ट्रिय जनमोर्चा (मसाल)सँग सहकार्य गर्ने समझदारी भइसकेको बताएका छन्।
नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले वामपन्थी तथा देशभक्त शक्तिहरूसँग सहकार्यका लागि निरन्तर छलफल भइरहेको बताए।
‘नेकपा एमाले र मसालसँग समन्वय गरेर जाने त समझदारी नै गरिसकेका छौं,’ उनले भने, ‘अन्य देशभक्त र वामपन्थीहरूसँग पनि छलफल निरन्तर गरिरहेका छौं।’
प्रचण्डले अन्तर्राष्ट्रिय क्षेत्रसँगको सहकार्यको आवश्यकतालाई समेत ध्यानमा राखेर त्यसअनुसार पहल भइरहेको बताए।
उनले निर्वाचनपछि पनि जनजीवन सहज बन्न नसकेको दाबी गर्दै संविधान र गणतन्त्रमाथि प्रहार भइरहेको बताए। संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र तथा प्राप्त अधिकारको संरक्षणका लागि सबै शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने अवस्था आएको उनको भनाइ थियो।






