दमौली (तनहुँ) — तनहुँको भानु नगरपालिका–१० तल्लो मैदानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भानु नगरपालिका–१० कै ४५ वर्षीय शङ्कर पाण्डे र ६५ वर्षीय टङ्कनीति पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
प्रहरीका अनुसार हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग१९प ८०६५ नम्बरको मोटरसाइकल आज अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि छुट्टाछुट्टै अस्पताल लगिएको थियो।
प्रहरी निरीक्षक मनोज पाण्डेका अनुसार मोटरसाइकल चालक शङ्करको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। यस्तै, टङ्कनीतिको लमजुङस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।






