दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ– जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै सडक मर्मत गरी यातायात सञ्चालनयोग्य बनाउन स्थानीय तह तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।

नजिकिँदै गरेको दसैँ, तिहार तथा छठ पर्वका बेला यात्रुलाई सहज आवागमनको व्यवस्था गर्न जिल्लाका अवरुद्ध तथा जीर्ण सडक तत्काल मर्मत गर्ने निर्णय समितिले गरेको हो।

मध्यपहाडी लोकमार्गबाहेक जिल्लाका अधिकांश ग्रामीण सडक कच्ची अवस्थामा छन्। वर्षा हुनेबित्तिकै सडक अवरुद्ध हुने समस्या रहेकाले चाडपर्वका बेला घर फर्किने सर्वसाधारणलाई सहज आवागमनका लागि सडक मर्मतमा प्राथमिकता दिन समितिले सम्बन्धित निकायलाई आग्रह गरेको हो।

१० स्थानीय तह रहेको खोटाङका अधिकांश वडा ग्रामीण सडक सञ्जालसँग जोडिएका छन्। तर, सडक कालोपत्र नहुँदा वर्षायाममा यातायात सेवा प्रभावित हुने गरेको छ। सामान्य अवस्थामा पनि ग्रामीण क्षेत्रमा करिब छ महिना मात्र नियमित रूपमा यातायात सञ्चालन हुने गरेको छ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले दसैँअघि नै ग्रामीण सडक मर्मत गरी नियमित सञ्चालनमा ल्याउन सम्बन्धित स्थानीय तहलाई आग्रह गरिएको बताए।

“आफ्नो क्षेत्रको सडक निर्माण, मर्मत तथा सञ्चालनमा ल्याउने जिम्मेवारी सम्बन्धित पालिकाको हो। यसमा प्रशासनले पनि आवश्यक समन्वय गर्छ,” उनले भने, “चाडपर्व मनाउन गाउँ फर्किएका कुनै पनि नागरिकले सडकका कारण दुःख पाउन नपरोस् भन्ने हाम्रो उद्देश्य हो। अवरुद्ध सडक सञ्चालनमा ल्याउन प्रशासनको तर्फबाट सक्दो सहयोग हुन्छ।”

समितिले मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी–जयरामघाट खण्डलाई २४ सै घण्टा सञ्चालनमा राख्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। उक्त सडक खोटाङसँगै छिमेकी भोजपुरका स्थानीयले समेत प्रयोग गर्ने भएकाले सडक मर्मतसम्भारका लागि मध्यपहाडी लोकमार्ग आयोजना, सडक डिभिजन कार्यालय हर्कपुर, गाईघाट–दिक्तेल सडक आयोजना तथा सम्बन्धित पालिकाबीच समन्वय गरी आवश्यक सामग्री र जनशक्ति व्यवस्थापन गर्ने निर्णय गरिएको छ।

यसैगरी, जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाका विभिन्न पालिकामा निजी आवास पुनर्निर्माण तथा प्रवलीकरणका लागि प्राप्त दोस्रो किस्ताबापतको रकम अनुमोदन गर्ने निर्णय गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ का सुविन श्रेष्ठ र कुमार श्रेष्ठलाई निजी आवास पुनर्निर्माण तथा प्रवलीकरणका लागि दोस्रो किस्ताबापत प्राप्त रु तीन लाख ४० हजार रकम वितरण गरिएको जनाइएको छ।

त्यस्तै, गत साउन १५ र २५ तथा भदौ १ गते परेको अविरल वर्षाका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा, वडा नं १० पाथेका र वडा नं ११ खार्मीका सडकमा निर्माण गरिएका तटबन्धमा क्षति पुगेको विषयमा पनि बैठकले छलफल गरेको छ। क्षतिग्रस्त तटबन्ध मर्मतका लागि बजेट व्यवस्थापन गर्न कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गरिएको सिफारिसलाई समितिले अनुमोदन गरेको छ।

बैठकले जिल्लामा हुनसक्ने विपद्का घटनाको प्रभावकारी प्रतिकार्यका लागि जिल्ला विपद् व्यवस्थापन समिति तथा सम्बन्धित सरोकारवाला निकायको सहभागितामा व्यवहारिक अभ्याससमेत सञ्चालन गर्ने निर्णय गरेको छ।