नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना भएका छन् ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख एवं जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईंका अनुसार जिल्लामा सबैभन्दा धेरै सर्पदंशका घटना कावासोती नगरपालिकामा भएका छन् । कावासोतीमा मात्रै १७४ जनालाई सर्पले डसेको छ ।

गत साउन र भदौमा विनयी त्रिवेणी गाउँपालिकामा ८३, देवचुली नगरपालिकामा १०, बौदीकाली गाउँपालिकामा आठ तथा बुलिङटार गाउँपालिकामा दुई जनालाई सर्पले डसेको उनले जानकारी दिए । अत्यधिक गर्मी र वर्षायामका कारण साउन र भदौमा सर्पदंशका घटना तुलनात्मक रूपमा बढी हुने गरेको कार्यालयले जनाएको छ ।

जिल्लाको मध्यविन्दु प्रादेशिक अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा सर्पदंशका बिरामीको उपचार हुने गरेको छ । सघन उपचार कक्ष (आईसीयू) आवश्यक पर्ने बिरामीलाई भने चितवन पठाउने गरिएको छ । अन्य बिरामीको उपचार जिल्लाकै स्वास्थ्य संस्थामा हुने गरेको छ ।

चापागाईंका अनुसार जिल्लामा गोमन, करेत, भाइपर र राजगोमनलगायत विषालु सर्प पाइन्छन् ।

यसैबीच, साउन र भदौमा जिल्लामा जनावरको टोकाइबाट दुई हजार ७७ जना घाइते भएका छन् । कुकुर, बिरालो, बाँदर, स्याललगायतका जनावरले टोकेर उनीहरू घाइते भएका हुन् ।

जनावरको टोकाइका घटना पनि कावासोतीमा सबैभन्दा धेरै भएका छन् । कावासोतीमा मात्रै एक हजार ५५१ जना जनावरको टोकाइबाट घाइते भएका छन् । यस्तै, देवचुलीमा ३१२, विनयी त्रिवेणीमा १६४, गैँडाकोटमा २९, बुलिङटारमा १२, बौदीकालीमा पाँच तथा मध्यविन्दु र हुप्सेकोटमा दुई–दुई जना घाइते भएका छन् ।

चापागाईंका अनुसार जिल्लामा बर्सेनि १० हजारभन्दा बढी मानिस जनावरको टोकाइबाट घाइते हुने गरेका छन् । रेबिजविरुद्धको खोप पर्याप्त मात्रामा उपलब्ध रहेकाले जनावरको टोकाइबाट घाइते भएकाको उपचारमा सहज भएको स्वास्थ्य कार्यालयले जनाएको छ।