काठमाडौं । नजिकिँदै गरेका दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला हुने भएको छ।
यातायात व्यवस्था विभागमा मंगलबार बसेको उच्चस्तरीय बैठकले चाडपर्वका बेला काठमाडौंबाट बाहिरिने यात्रुलाई सहज बनाउन अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो। बैठकमा यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात श्रमिक संगठन, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा नयाँ बसपार्क व्यवस्थापक ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधिको सहभागिता थियो।
अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष दीपक केसीका अनुसार सरोकारवाला निकायबीचको छलफलपछि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको हो।
यस वर्षको दशैंमा मात्रै १० लाखभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको छ। अग्रिम टिकट बुकिङ नखुल्दा तथा केही यातायात कम्पनीले मात्रै अनलाइन टिकट बिक्री गरिरहेका कारण यात्रुमा देखिएको अन्योल अब हट्ने अपेक्षा गरिएको छ।
बैठकले यात्रुको सुरक्षा र यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउन विभिन्न निर्णयसमेत गरेको छ। लामो दूरीका सार्वजनिक सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै, टिकट काउन्टरका कर्मचारीले परिचयपत्र र युनिफर्म अनिवार्य लगाउनुपर्ने तथा टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अभिलेख राख्नुपर्ने निर्णय भएको छ।
चाडपर्वको मौका छोपेर तोकिएकोभन्दा बढी भाडा असुल गर्ने, कालोबजारी गर्ने वा टिकटमा अनियमितता गर्ने व्यक्ति तथा व्यवसायीमाथि कडा कानुनी कारबाही गरिने विभागले जनाएको छ। टिकट बिक्री प्रणालीलाई पारदर्शी बनाउन सरकार, यातायात व्यवसायी र सुरक्षा निकायबीच प्रभावकारी समन्वय गर्ने निर्णय पनि भएको छ।
त्यस्तै, राजमार्गमा हुने दुर्घटना तथा अवरोधको तत्काल सूचना आदानप्रदानका लागि केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याइने भएको छ। यात्रुवाहक सबै सवारीसाधनमा प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण र पिउने पानीलगायत अत्यावश्यक सामग्री अनिवार्य रूपमा राख्नुपर्ने निर्णय गरिएको छ।
बसपार्क तथा टिकट काउन्टरमा हुने यात्रुको अत्यधिक भीड व्यवस्थापनका लागि सुरक्षा निकायलाई प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा पनि बैठकमा जोड दिइएको थियो।
बैठकमा सहभागी सरोकारवालाले यस वर्षको दशैं–तिहारमा यात्रुलाई सुरक्षित, सहज र व्यवस्थित यातायात सेवा उपलब्ध गराउन सबै पक्षले जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्।






