काठमाडौं । संसदीय सुनुवाइ समितिले सरकारले विभिन्न १३ देशका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीहरू सदस्यहरूलाई अध्ययनका लागि वितरण गर्दै सुनुवाइको कार्यतालिका तय गरेको हो।
समितिका अनुसार प्रस्तावित राजदूतविरुद्ध सातवटा उजुरी परेका छन्। तीमध्ये भारतका लागि प्रस्तावित राजदूत निश्चलनाथ पाण्डेविरुद्ध एक, साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्ध दुई र जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाविरुद्ध तीनवटा उजुरी परेको छ।
सरकारले असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकबाट १३ देशका लागि राजदूत सिफारिस गरेको थियो। प्रस्तावित राजदूतहरू कूटनीति, प्राज्ञिक क्षेत्र, सुरक्षा, अर्थतन्त्र, विकास, आप्रवासन, प्रविधि तथा सार्वजनिक प्रशासनलगायत विभिन्न क्षेत्रको पृष्ठभूमिबाट छन्।
सरकारको सिफारिसअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जबरा प्रस्तावित छन्।
त्यस्तै जापानका लागि जिज्ञानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा तथा साउदी अरेबियाका लागि गिरीबहादुर सुनार सिफारिस भएका छन्।






