काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ११.९६ अंकले बढेर २ हजार ५७८.७३ विन्दुमा पुगेको छ।
बजारमा आज समग्रमा सकारात्मक माहोल देखिएको छ। कारोबार भएका कम्पनीमध्ये १६९ वटाको सेयर मूल्य बढेको छ भने ९५ वटाको घटेको छ। यस्तै, १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज कुल ३ अर्ब १३ करोड ११ लाख ९९ हजार ५२८ रुपैयाँ बराबरको कारोबार भएको छ। यस क्रममा ८९ लाख ५५ हजार २३० कित्ता सेयर किनबेच भएका छन्। कुल ४१ हजार ६०७ कारोबारमार्फत ३५९ स्क्रिप्टको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबार भएका कम्पनीमध्ये त्रिशूली जलविद्युतको सेयर मूल्य ५.११ प्रतिशतले बढेको छ। यो आजको सर्वाधिक वृद्धि हो। यस्तै, सर्वोत्तम पेन्ट्सको सेयर मूल्य ४.९४ प्रतिशतले घटेको छ, जुन आजको सर्वाधिक गिरावट हो।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको २३ करोड ९१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
आज सबै समूहगत परिसूचकमा एक प्रतिशतभन्दा कम उतारचढाव देखिएको छ। बैंकिङ समूहमा ०.६५ प्रतिशतको वृद्धि भएको छ, जुन आजका समूहहरूमध्ये सर्वाधिक हो।






