कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा पुगेको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले आगामी मंसिरदेखि पुल सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिएको जनाएको छ।

कार्यालय प्रमुख कृष्णकुमार महतोका अनुसार पुलको १० नम्बर पिलर निर्माण सम्पन्न भइसकेको छ भने सुपर ढलानको काम भइरहेको छ। फाउण्डेसनसहित तीनवटा पिलरको सबलीकरण र ढलानको काम पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

२०७८ असारमा उद्घाटनको तयारी भइरहेका बेला आएको बाढीले पुलको पिलर भाँचिएपछि कमला पुल जीर्ण बनेको थियो। पुल पुनःनिर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले लामो समयसम्म नदी वारपार गर्न डुङ्गाको प्रयोग गर्नुपरेको थियो।

पुल निर्माणमा देखिएका समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि कामले गति लिएको प्रमुख महतोले बताए। पुलको दुवैतर्फ पुग्ने सडकमा माटो भर्ने कामसमेत सम्पन्न भइसकेकाले मंसिरदेखि पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ।

कमला पुल निर्माणको ठेक्का २०६८ सालमा पप्पु–लुम्बिनी जेभीले पाएको थियो। अहिले पनि सोही निर्माण कम्पनीले पुल पुनःनिर्माणको काम गरिरहेको छ।

यसैबीच, हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको ४०६ दशमलव ४३ किलोमिटर सडकखण्डमध्ये ३४७ दशमलव ६३ किलोमिटर सडक कालोपत्र भइसकेको छ। उक्त खण्डमा पर्ने २४ वटा पुलको निर्माणसमेत सम्पन्न भइसकेको कार्यालयले जनाएको छ।

सूचना अधिकारी रञ्जितकुमार रायका अनुसार सिरहाको ५७ दशमलव ५२ किलोमिटर सडकखण्डमध्ये २९ दशमलव ९८ किलोमिटर निर्माण सम्पन्न भएको छ भने २७ दशमलव ४६ किलोमिटर निर्माणाधीन छ।

त्यस्तै, धनुषामा ८९ दशमलव ५२ किलोमिटरमध्ये ७४ दशमलव ५८ किलोमिटर सडक निर्माण सम्पन्न भएको र १४ दशमलव ९४ किलोमिटर निर्माणाधीन रहेको छ। महोत्तरीमा ९३ दशमलव ५ किलोमिटरमध्ये ९१ दशमलव ५६ किलोमिटर सडक निर्माण भइसकेको छ भने १ दशमलव ९४ किलोमिटर बाँकी छ।

सर्लाहीमा भने १६६ दशमलव २ किलोमिटर सडकखण्डमध्ये १५१ दशमलव ५१ किलोमिटर निर्माण सम्पन्न भएको छ। बाँकी १४ दशमलव ५१ किलोमिटर सडक निर्माणाधीन अवस्थामा रहेको रायले बताए।

आर्थिक वर्ष २०८२/८३ भित्रै हुलाकी सडक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि राजमार्ग क्षेत्रमा रहेका घरटहरा हटाउन ढिलाइ तथा विभिन्न स्थानमा जग्गासम्बन्धी विवादका कारण केही काम प्रभावित भएको कार्यालय प्रमुख महतोले बताए। बाँकी काम समयमै सम्पन्न गर्न निरन्तर प्रयास भइरहेको उनले जानकारी दिए।

पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत मधेस प्रदेशका आठवटै जिल्लामा सडक तथा पुल निर्माणले गति लिएसँगै ग्रामीण क्षेत्रको यातायात सञ्जालसमेत विस्तार हुँदै गएको छ। सडक पूर्वाधार विस्तारले स्थानीयको आवागमन सहज हुनुका साथै व्यापार, व्यवसाय र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।