गुसाउ (नाइजेरिया) – उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण गर्दा पाँच खानी मजदुरसहित १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
मारू जिल्लाको बिन्दिन गाउँबाहिर रहेको खानीमा सोमबार मोटरसाइकलमा आएका दर्जनौँ गिरोहका सदस्यले गोली चलाउँदा पाँच खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । त्यसपछि गाउँमा प्रवेश गरेका बन्दुकधारी र सुरक्षाकर्मीबीच भएको गोली हानाहानमा १२ सैनिक मारिएका थिए ।
स्थानीय गाउँका काउन्सिलर अब्दुल्लाही मुसा मुतुन्जीले घटनामा १७ जनाको मृत्यु भएको पुष्टि गर्दै खानी मजदुरलाई धम्की दिएको विषयलाई लिएर गिरोहले बदलाको कारबाही गरेको बताउनुभएको छ ।
आक्रमणमा आफ्ना छोरा पनि मारिएको लवान वानजामले एएफपीलाई बताउनुभयो । उहाँका अनुसार स्थानीय गिरोहका एक नेताको योजनामा आक्रमण भएको थियो ।
उत्तरपश्चिम तथा मध्य नाइजेरियाका ग्रामीण समुदाय डाकु गिरोहको हिंसाबाट वर्षौंदेखि प्रभावित छन् । गिरोहले गाउँमा आक्रमण गर्ने, बासिन्दालाई अपहरण गर्ने तथा घर लुटेर जलाउने गरेका छन् ।
अनौपचारिक सुन खानी क्षेत्रका कामदारलाई पनि गिरोहले नियमित रूपमा निशाना बनाउने गरेका छन् । खानीस्थलको नियन्त्रण तथा सुनबाट हिस्सा माग्दै उनीहरूले कामदारमाथि आक्रमण गर्ने गरेको बताइएको छ ।
घटनाबारे एएफपीले सेनासँग प्रतिक्रिया मागे पनि तत्काल कुनै जवाफ प्राप्त नभएको जनाएको छ ।






