काठमाडौं । भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलाको नाम प्रस्ताव गरेको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतले दलेलाको नाम एग्रिमोका लागि नेपाल पठाएको हो।
नेपालमा यसपटक राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई राजदूत बनाएर पठाउने चर्चा भइरहेका बेला भारतले भने कर्मचारी पृष्ठभूमिका कूटनीतिज्ञ दलेलालाई नेपालका लागि प्रस्ताव गरेको हो।
सन् २०२५ देखि भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत दलेला यसअघि भुटानका लागि भारतीय राजदूत थिए। उनले भुटानमा करिब तीन वर्ष राजदूतका रूपमा काम गरेका थिए।
हाल दलेलाले भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका मुलुकसँगको विकास साझेदारी, अफ्रिकासँगको सहकार्य, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदाउँदा रणनीतिक प्रविधिसम्बन्धी विषय हेर्दै आएका छन्।
दलेला सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए। उनको कूटनीतिक करियर इजरायलको तेल अभिभबाट सुरु भएको थियो। भारतीय विदेश मन्त्रालयका अनुसार उनले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय कूटनीतिक नियोगमा जिम्मेवारी सम्हालेका छन्।
सन् २००९ देखि २०११ सम्म उनले भारतीय प्रधानमन्त्रीको कार्यालयमा निर्देशकका रूपमा काम गरेका थिए। त्यस क्रममा उनको जिम्मेवारी दक्षिण एसियाली छिमेकी, पूर्वी एसिया तथा इन्डो–प्यासिफिक क्षेत्र, खाडी, मध्यपूर्व र अफ्रिकी मुलुकसँगको भारतको सम्बन्धसँग सम्बन्धित विषयमा केन्द्रित थियो।
उनले सन् २००६ देखि २००७ सम्म भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजनमा काम गरेका थिए। त्यसैगरी सन् २०१६ देखि २०१९ सम्म नर्थ डिभिजनकै सहसचिवका रूपमा कार्यरत रहँदा नेपाल र भुटानसँग भारतको सम्बन्धका विषयमा नजिकबाट काम गरेका थिए।
व्यापार तथा आर्थिक नीतिको क्षेत्रमा समेत दलेलासँग लामो अनुभव छ। उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा काम गर्नुका साथै विश्व व्यापार संगठन (डब्लूटीओ) मा भारतको स्थायी नियोगमा दुईपटक सेवा गरेका छन्।
दलेलाले अमेरिकामा भारतका महावाणिज्यदूतका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए। वासिङ्टन डीसीस्थित भारतीय दूतावासमा उनले सन् २०११ देखि २०१४ सम्म राजनीतिक मामिलाका मन्त्री तथा सन् २०२० देखि २०२२ सम्म सहायक मिसन प्रमुखका रूपमा काम गरेका थिए।






