बेलायतमा भएको क्याम्ब्रियन पट्रोलमा नेपाली सेनालाई स्वर्ण पदक 

काठमाडौँ — नेपाली सेनाले बेलायतमा आयोजित अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल–२०२६’ मा स्वर्ण पदक जितेको छ।

वेल्सको ब्रेकनमा असोज २१ र २२ गते सञ्चालन भएको प्रतियोगितामा सहभागी नेपाली सेनाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हात पारेको हो। बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति महारथी अशोकराज सिग्देलको उपस्थितिमा पदक वितरण गरिएको थियो।

प्रतियोगितामा बेलायतसहित ३५ देशका १३० टोली सहभागी थिए। सन् १९६० देखि हरेक वर्ष आयोजना हुँदै आएको क्याम्ब्रियन पट्रोलमा नेपाली सेना सन् २०१४ देखि सहभागी हुँदै आएको छ।

प्रतियोगितामा सहभागी टोलीले करिब ७० पाउन्ड तौल बराबरका उपकरण बोकेर दुई दिनभित्र ४० माइल दूरी पार गर्नुपर्ने हुन्छ। यस क्रममा हतियार सञ्चालन, सूचना संकलन, घाइते तथा बिरामीको व्यवस्थापनलगायत विभिन्न सैनिक सीप र क्षमताको परीक्षण गरिन्छ।

नेपाली सेनाले यसअघि पनि क्याम्ब्रियन पट्रोलमा सन् २०१७, २०१९, २०२४ र २०२५ मा स्वर्ण पदक जितिसकेको छ। पछिल्लो स्वर्णसँगै नेपाली सेनाले यस प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ।