तनहुँ । हालै आएको बाढीले तनहुँका सार्वजनिक संरचनामा व्यापक क्षति पुर्याएको छ । बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा मर्मत प्रक्रिया सम्बन्धित निकायले अघि बढाएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार जिल्लाका पाँचवटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने तीनवटा पुलमा आंशिक क्षति पुगेको छ । बाढीका कारण केही पक्की पुल तथा कल्भर्टसमेत भत्किएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष शिवलाल तिवारीका अनुसार स्थानीय तहका विपद् व्यवस्थापन समितिको निर्णय, सम्बन्धित पालिका तथा वडाको सिफारिस, जिल्ला प्रहरी कार्यालयको सिफारिस र जिल्ला सुरक्षा समितिको अनुगमनका आधारमा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा मर्मत तत्काल सुरु गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।
बाढीबाट घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका जोड्ने झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । त्यस्तै, घिरिङ गाउँपालिका–१ को अत्रौलीदेखि कासिवन जोड्ने पुल पनि पूर्ण रूपमा भत्किएको छ ।
यसैगरी, घिरिङ गाउँपालिका–४ र नवलपुरको बौदीकाली गाउँपालिका–२ अन्तर्गत मण्डारदेखि खरसङघाट जोड्ने झोलुङ्गे पुल तथा सोही वडाको करुवाटारदेखि माइतीघाट–मचेडी जोड्ने पुल पनि पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
देवघाट गाउँपालिका–२ र नवलपुरको बुलिङटार गाउँपालिका–१ जोड्ने खाल्टे–बुलिङटार झोलुङ्गे पुलमा समेत बाढीले क्षति पुर्याएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।






