काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असोज २३ गते बसेको बैठकका प्रमुख निर्णय सार्वजनिक गरिएको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक गरेका निर्णयमा भूकम्पसम्बन्धी सम्झौता स्वीकृति, बिटौरी जग्गा दर्ता समिति गठन, एसियाली खेलकुदका पदक विजेतालाई नगद पुरस्कार तथा सहन्यायाधिवक्ताको बढुवा र पदस्थापनलगायत विषय समेटिएका छन्।
मन्त्रिपरिषद्का प्रमुख निर्णयहरू निम्नानुसार छन् :
१. भूकम्पसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति
अर्थ मन्त्रालयको प्रस्तावअनुसार विश्व बैंकसँग ‘नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड’ (Nepal Earthquake Catastrophe Bond) सम्बन्धी म्यान्डेट सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ।
२. बिटौरी जग्गा दर्ता समिति गठन
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावअनुसार बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने सम्बन्धमा ‘समिति गठन आदेश, २०८३’ स्वीकृत गरिएको छ।
३. एसियाली खेलकुदका पदक विजेतालाई नगद पुरस्कार
शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावअनुसार जापानको आइची–नागोयामा सम्पन्न २०औँ एसियाली खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने महिला कबड्डी तथा कराँतेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ।
४. सहन्यायाधिवक्ताको बढुवा र पदस्थापन
नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको छ।






