बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित)

काठमाडौं । बाढीपहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। पछिल्लो विवरणअनुसार रसुवाका मुख्य राजमार्गका सबै सडक खण्ड पूर्ण रूपमा बन्द रहेका छन् भने अन्य जिल्लामा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ।

धादिङको धुनिबेँसी नगरपालिका–९, खत्रीपौवामा पहिरो खसेपछि त्रिभुवन राजपथ एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। त्यस्तै, धादिङकै गजुरी गाउँपालिका–५, गलौंदीमा पहिरो जाँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

काभ्रेमा बाढीका कारण बीपी राजमार्ग पूर्ण रूपमा बन्द रहेको छ। गण्डकी प्रदेशअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२, बैसरीमा पहिरो खसेपछि बेनी–जोमसोम सडक खण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–३, जन्ती पहिरो क्षेत्रमा सडक अवरुद्ध हुँदा कालीगण्डकी करिडोरमा पनि यातायात प्रभावित भएको छ। उक्त सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा रहे पनि ठूला सवारीसाधन आवतजावत गर्न सक्ने अवस्था छैन।

यसैगरी, बाढीका कारण बेँसीसहरदेखि खाङसारसम्मको सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधनको आवागमनमा समस्या देखिएको छ।

पहिरोका कारण कालीगण्डकी करिडोरको एक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने भेरी करिडोरमा यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११, बालुवासंग्रहीमा पहिरो खसेपछि उक्त सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ।

विभिन्न स्थानमा सडक अवरुद्ध तथा एकतर्फी रूपमा सञ्चालन भइरहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन र जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आवश्यक छ।