‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने सेवा प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि प्राधिकरणले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै हालसम्म इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको स्पष्ट पारेको हो । प्राधिकरणले पनि शुल्क वृद्धि गर्न कुनै स्वीकृति नदिएको जनाएको छ ।

प्राधिकरणका अनुसार दूरसञ्चार सेवा प्रदायकले उपभोक्तालाई सेवा उपलब्ध गराएबापत लिने शुल्क उचित र मनासिब हुनुपर्छ । शुल्क निर्धारण गर्दा प्राधिकरणले जारी गरेको निर्देशिकाअनुसार प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ ।

निर्देशिकाबमोजिम शुल्क निर्धारण गरी लागू हुने मितिसमेत उल्लेख गरेर कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि प्राधिकरणसमक्ष प्रस्ताव पेस गर्नुपर्ने प्रावधान रहेको प्राधिकरणले स्मरण गराएको छ ।

त्यसैगरी, प्राधिकरणबाट स्वीकृत शुल्क दर सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ । स्वीकृति नलिई शुल्क वृद्धि गर्ने, तोकिएको दरभन्दा बढी शुल्क असुल्ने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने कार्य कानुनविपरीत हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई प्रचलित कानुनी व्यवस्था र स्वीकृत शुल्क दरको पूर्ण पालना गर्न सचेत गराएको छ । नियमविपरीत शुल्क असुल्ने वा अनधिकृत रूपमा सेवा सञ्चालन गरेको पाइएमा सम्बन्धित सेवा प्रदायकमाथि दूरसञ्चार ऐन तथा नियमावलीबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

प्राधिकरणले उपभोक्तालाई इन्टरनेट सेवाको शुल्कसम्बन्धी आधिकारिक जानकारीमा विश्वास गर्न आग्रह गर्दै स्वीकृत दरभन्दा बढी शुल्क लिइएमा सम्बन्धित निकायमा गुनासो गर्न सकिने जनाएको छ ।