मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला

महोत्तरी । नेपालीको महान् चाड बडादसैँ आजदेखि सुरु भएको छ । मिथिला क्षेत्रमा दसैँलाई ‘दशहरा’ अर्थात् शारदीय नवरात्रका रूपमा मनाइने भएकाले महोत्तरीका गाउँदेखि सहरसम्म धार्मिक चहलपहल बढेको छ ।

नवरात्रको पहिलो दिन आज घटस्थापनासँगै देवी शक्तिपीठ, मन्दिर तथा घरघरमा देवी दुर्गाको पूजाआराधना सुरु भएको छ । मिथिला क्षेत्रमा देवी दुर्गाको महिमासम्बन्धी भजन गुञ्जिन थालेका छन् भने विभिन्न स्थानमा दुर्गा प्रतिमा निर्माण गरी मेला आयोजनाको तयारी गरिएको छ ।

मैथिली संस्कृतिविद् ध्रुव रायका अनुसार मिथिला क्षेत्रमा वर्षमा दुईवटा नवरात्र मनाउने परम्परा छ । असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मको अवधिलाई शारदीय र चैत शुक्ल प्रतिपदादेखि नवमीसम्मको अवधिलाई वासन्ती नवरात्र भनिन्छ । दुवै नवरात्र प्रचलनमा रहे पनि मिथिला क्षेत्रमा दसैँ भन्नाले मुख्यतः शारदीय नवरात्रलाई बुझ्ने गरिएको छ ।

शारदीय नवरात्रको पहिलो दिन महोत्तरीका प्रसिद्ध देवी शक्तिपीठ तथा मन्दिरमा घटस्थापनाका लागि कलशयात्राको तयारी गरिएको छ । मिथिला परम्पराअनुसार अविवाहित किशोरीले धार्मिक महत्त्वका नदी तथा तलाउबाट नयाँ घडामा पवित्र जल ल्याउने गर्छन् । उक्त जलले देवीका प्रतिमा र मन्दिर परिसर सिञ्चित गरी कलश स्थापना गरेर घटस्थापनाको विधि पूरा गरिन्छ ।

महोत्तरीको औरही नगरपालिका–७ स्थित भोइलको सोनासती (सोनामाई) स्थान, बर्दिबास–४ स्थित पञ्चधुरा माईस्थान, जलेश्वरस्थित सन्सारी माई र राजदेवी मन्दिरमा एक हजार आठ कन्याको सहभागितामा कलशयात्रा गर्ने तयारी गरिएको छ । कन्याहरूले रातु नदी तथा लक्ष्मीसागर, पुरन्दर, वरुण, ध्रुवकुण्ड र भार्गवसरलगायत धार्मिक महत्त्वका जलाशयबाट पवित्र जल ल्याउनेछन् ।

यस वर्ष तिथिको घटबढका कारण नवरात्र १० दिनको परेको छ । मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गअनुसार आजदेखि सुरु भएको नवरात्र आगामी कात्तिक ३ गतेसम्म चल्नेछ । मिथिला क्षेत्रमा चाडपर्व, लग्न तथा शुभमुहूर्त निर्धारण गर्न यी पञ्चाङ्गको प्रयोग गर्ने परम्परा छ ।

पर्वका अवसरमा महोत्तरीका विभिन्न स्थानमा दुर्गा प्रतिमा स्थापना गरी घटस्थापना गरिँदै छ । मन्दिर तथा पूजास्थलमा जौ, तिल, गहुँ, धान र मकैको जमरा राख्ने तयारी गरिएको छ । जिल्लाका ४० स्थानमा दुर्गा मेला आयोजना गरिएका छन् । तीमध्ये सोनामाई, जलेश्वर, मटिहानी, रामगोपालपुर, गौशाला र सीतापुरबजारका मेला विशेष मानिन्छन् ।

मधेस प्रदेशका मिथिला क्षेत्रमा महोत्तरीका पञ्चधुरा माई र सोनामाई, सप्तरीका सकरा भगवती, कङ्कालिनी माई र छिन्नमस्ता, जनकपुरको राजदेवी मन्दिर तथा बाराको गढीमाई मन्दिर प्रसिद्ध शक्तिपीठका रूपमा परिचित छन् ।

मैथिल हिन्दू परम्परामा नवरात्रका अवसरमा घरघरमा देवी दुर्गाको पूजाआराधना तथा चण्डी पाठ गर्ने चलन छ । दसैँ सुरु भएसँगै महोत्तरीका गाउँ तथा नगरमा युवापुस्ता लिङ्गे पिङ निर्माणमा जुटेका छन् । बस्तीबस्तीमा दुर्गाका प्रतिमा स्थापना गरी धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित मेला आयोजना गरिँदै छ ।

नवरात्रका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । प्रतिपदाका दिन घटस्थापना गरी सुरु हुने पूजाआजा नवमीसम्म चल्छ । विजयादशमीका दिन देवीको पूजापाठपछि जमरा तथा प्रसाद ग्रहण गरेर शारदीय नवरात्र सम्पन्न गर्ने परम्परा छ ।

दसैँका अवसरमा जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन जिल्ला सुरक्षा समितिले एकीकृत सुरक्षा योजना लागू गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित एक हजार ३३१ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

असत्यमाथि सत्यको विजयको प्रतीक मानिने दसैँमा देवी दुर्गाले चण्ड–मुण्ड, शुम्भ–निशुम्भ र महिषासुरलगायत दानवको संहार गरेको धार्मिक ग्रन्थमा उल्लेख छ । नवरात्रमा देवी दुर्गाको उपासना गर्दा मन, वचन र कर्ममा शुद्धता आउने तथा मानिसलाई सत्कर्म, सद्विचार र सदाचारतर्फ प्रेरित गर्ने धार्मिक विश्वास रहिआएको छ ।