काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा सुरक्षामा जुट्न सबैलाई आग्रह गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बाढीबाट गोरखाको चुमनुब्री, धार्चे र आरुघाटलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको तथा पुल र घरहरू बगाएको खबरले आफू मर्माहत भएको बताएका हुन् ।
संयोजक दाहालले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन अनुरोध गरेका छन् ।
उनले विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग गर्न र सबै एकजुट हुनसमेत अपिल गरेका छन् ।
दाहालले फेसबुकमा लेखेका छन्, “गोरखाको बूढीगण्डकी नदीमा अकस्मात् आएको भीषण बाढीले चुमनुब्री, धार्चे र आरुघाटलगायतका क्षेत्रमा पुर्याएको क्षति तथा पुल र घरहरू बगाएको खबरले मर्माहत बनाएको छ । प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैमा हार्दिक आग्रह गर्दछु । साथै, बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गर्दछु ।”
उनले यस विपद्को घडीमा प्रभावित नागरिकको सहयोगमा सबैलाई एकजुट हुन आग्रह गरेका छन् ।






