बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीले उत्तरी गोरखाका विभिन्न बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका सयभन्दा बढी घरगोठ बगाएको छ भने १० जना सम्पर्कविहीन भएका छन्।

आइतबार बिहान उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा सुक्खा पहिरो खसेपछि बाढी आएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान करिब ४ बजे पहिरोले खोला थुनिएको र एक्कासि खुल्दा ठूलो बाढी आएको महाशाखाको भनाइ छ। भू–उपग्रहबाट प्राप्त तस्बिरअनुसार शनिबार साँझ नै पहिरो गएको देखिएको छ।

उङ्गिलुङ खोलाबाट बूढीगण्डकीमा मिसिएको बाढीले चुमनुब्री गाउँपालिकाको लोक्पा, न्याकफेदी, सिर्दिबास, सल्लेरी र जगत क्षेत्रमा क्षति पुर्‍याएको छ। यस्तै, धार्चे गाउँपालिकाको दोभान, माछीखोला र यारुबगर तथा आरुघाट गाउँपालिकाको सोती र आरुघाट बजार प्रभावित भएका छन्।

१० जना सम्पर्कविहीन

बाढीमा परेर चुमनुब्री गाउँपालिका–६ चुन्चेतस्थित उङ्गिलुङ भेडीगोठमा बस्दै आएका पाँच जना सम्पर्कविहीन भएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार सोही क्षेत्रको धाउलेमा बस्ने तीन घरका पाँच जना पनि सम्पर्कमा आएका छैनन्। स्थानीय दिपेश लामाले उनीहरू सम्पर्कविहीन रहेको बताएका छन्।

छवटा पुल बगायो

बाढीले चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगाएको छ।

गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने मोटरेबल पुल तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बाढीले बगाएको आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए।

त्यसैगरी, धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिज, माछीखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्‍याङ र जगत जोड्ने पुल तथा घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेको छ। चुमनुब्री गाउँपालिका–६ सिर्दिभीरस्थित क्यान्टिलिभर पुलसमेत बाढीले बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बताए।

सर्दिभीरको क्यान्टिलिभर पुल चुमनुब्री गाउँपालिका–६ को चुम्लिङ र वडा नं. ७ को छेकम्पारका बस्ती पुग्ने प्रमुख सहारा थियो। पुल बगाएपछि उत्तरी गोरखाका विभिन्न बस्तीको आवागमन थप कठिन बनेको छ।

धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार माछीखोलाको पुल बगाउँदा केरौँजा, लामाबेँसी र रुन्चेतलगायत गाउँ जाने बाटो अवरुद्ध भएको छ।

“दसैँको मुखमा हामीलाई ठूलो विपत्ति आइपर्‍यो,” उनले भने।

चुमनुब्री–३ फिलिमकी कुमारी गुरुङले पनि बाढीले पुल बगाएपछि दसैँमा घर जाने बाटो बन्द भएको बताइन्। “हामी त अब यहीँ थुनियौँ, तलबाट घर आउनेहरूको बाटो पनि बन्द भयो,” उनले भनिन्, “यहाँ आउने हेलिकोप्टरबाहेक अन्य उपाय छैन।”

विद्यालय भवनसमेत बगायो

बूढीगण्डकीको बाढीले चुमनुब्री गाउँपालिका–३ घट्टेखोलास्थित विकास आधारभूत विद्यालयको भवनसमेत बगाएको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बताए। बाढीले घर, पुल र विद्यालयमा क्षति पुर्‍याउँदा स्थानीयको जनजीवन प्रभावित भएको छ।

तीन जलविद्युत् आयोजनामा क्षति

बाढीका कारण उत्तरी गोरखाका तीनवटा जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ।

चुमनुब्री गाउँपालिका–३ सल्लेरीस्थित सहज ऊर्जा प्रालिको पावरहाउस र लेबर क्याम्प बाढीले बगाएको छ। यस्तै, धार्चे गाउँपालिका–१ को यारु र दोभान क्षेत्रमा रहेका दुईवटा जलविद्युत् आयोजनामा क्षति पुगेको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए।

सल्लेरीस्थित जलविद्युत् आयोजनामा क्षति पुगेपछि न्याक, फिलिम, चिसापानी, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, भालुवाङ, सिर्दिबास र उहियालगायत बस्ती विद्युत्विहीन बनेका छन्।

सयभन्दा बढी घरगोठमा क्षति

बाढीले चुमनुब्री गाउँपालिकाको उङ्गिलुङ खोला क्षेत्रमा रहेका चारवटा गोठ बगाएको छ। बूढीगण्डकी नदी किनारका सल्लेरी, घट्टेखोला, पैँयु, दोभान र बगरका करिब ३१ घरधुरी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए।

उनका अनुसार धार्चे गाउँपालिकाको माछीखोला, यारुबगर र दोभानका करिब ५० घरधुरी तथा आरुघाट गाउँपालिकाको सोतीका करिब १५ घरधुरीमा क्षति पुगेको छ। यसबाहेक अन्य प्रभावित क्षेत्रमा पनि घरगोठ बगेका छन्।

हेलिकोप्टरबाट उद्धार जारी

बाढीका कारण विभिन्न स्थानमा फसेका स्थानीय, पर्यटक र जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीको हेलिकोप्टरमार्फत उद्धार भइरहेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकफेदीमा फसेका नौ जनालाई हेलिकोप्टरबाट उद्धार गरी न्याक गाउँ पुर्‍याइएको छ।

त्यसैगरी, धार्चे गाउँपालिका–१ यारुबगरमा फसेका एक विदेशी नागरिकसहित १८ जनाको उद्धार गरिएको छ। पर्यटक, स्थानीय बासिन्दा र जलविद्युत् आयोजनामा कार्यरत उनीहरूलाई हेलिकोप्टरमार्फत हुल्चुक गाउँ लगिएको शर्माले बताए।

मनासलु क्षेत्रमा अलपत्र परेका ९० जना पर्यटक, गाइड र भरियाको समेत हेलिकोप्टरबाट उद्धार गरिएको छ। बाढी प्रभावित चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा उद्धारका लागि नेपाली सेनाका चारवटा हेलिकोप्टर परिचालन गरिएको थियो।