काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि उक्त स्थानमा बेलिब्रिज जडान गर्ने तयारीका लागि नेपाली सेनाको टोली खटिएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बेलिब्रिज जडानको तयारीका लागि सैनिक इन्जिनियरिङ टोली परिचालन गरिएको हो ।
बाढीबाट प्रभावित नागरिकको उद्धारका लागि नेपाली सेनाले आइतबार दिनभर एमआई–१७ सहित चारवटा हेलिकप्टर परिचालन गरेको थियो । हेलिकप्टर र स्थलमार्गबाट खटिएको सैनिक टोलीले विभिन्न प्रभावित क्षेत्रबाट हालसम्म ९५ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको निर्देशनालयले जनाएको छ ।
सेनाका अनुसार गोरखाको जगतबाट १७, यारुबाट दुई, ठूलोढुङ्गाबाट १३, दोभानबाट तीन, फिलिमबाट दुई, न्याक्फेदीबाट १७, पायुबाट १२, नामरुङबाट तीन, देङबाट तीन र धौलीबाट तीन जनाको उद्धार गरिएको छ ।
उद्धार गरिएकामध्ये नौ विदेशी नागरिकसहित ३५ जनालाई आरुघाटबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।






