बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया । बर्दियाको राजापुर नगरपालिका–३ तिघ्रामा एक जनाको ज्यान लिएको चितुवालाई आज नियन्त्रणमा लिइएको छ। चितुवाको आक्रमणबाट स्थानीय ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएपछि डिभिजन वन कार्यालय बर्दियाले चितुवा नियन्त्रणमा लिन दुई वटा खोर राखेको थियो।

डिभिजन वन कार्यालय बर्दियाका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा चितुवा फसेको जानकारी आज बिहान प्राप्त भएको थियो। त्यसपछि चितुवाको उद्धार गरी बिहान करिब ९ बजे बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारास्थित कार्यालयमा बुझाइएको उनले जानकारी दिए।

गत बिहीबार मध्यराति राजापुर नगरपालिका–३ चख्खापुरस्थित सडकमा बसिरहेका बेला चितुवाले थारुमाथि आक्रमण गरेको थियो। आक्रमणबाट गम्भीर घाइते भएका थारुलाई स्थानीयले उद्धार गरी राजापुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा शुक्रबार उनको मृत्यु भएको थियो।

थारुको मृत्यु भएपछि डिभिजन वन कार्यालयले शुक्रबारदेखि दुई वटा खोर राखेर चितुवा नियन्त्रणमा लिने प्रयास थालेको वरिष्ठ वन अधिकृत चापागाईंले बताउनुभयो। निरन्तरको प्रयासपछि आज चितुवालाई नियन्त्रणमा लिन सफल भएको उनको भनाइ छ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा बर्दियामा चितुवाको सुरक्षित उद्धार गरिएको यो पहिलो घटना हो। पछिल्लो समय जिल्लामा चितुवाको आक्रमण बढ्दै गएको छ। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म चितुवाको आक्रमणबाट एक जनाको मृत्यु हुनुका साथै ३८ वटा घरपालुवा जनावर मारिएका छन्।

गाउँबस्तीमा खसी, बाख्रा, बङ्गुर, गाई, भैँसी र कुकुरलगायत घरपालुवा जनावरमाथि चितुवा तथा बाघले आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालयले खोर राखेर वन्यजन्तुलाई नियन्त्रणमा लिने प्रयास गर्दै आएको छ।