काठमाडौँ– सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ। धान खरिदका लागि सरकारले ६७ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय भइरहेको जनाएको छ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निजी सचिवालयका अनुसार धान खरिद प्रक्रिया सुरु भइसकेको छ। चालु आर्थिक वर्षका लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ र मोटा तथा मध्यम धानको प्रतिक्विन्टल तीन हजार ८६० रुपैयाँ निर्धारण गरिएको छ।
सरकारले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दा किसानले आफ्नो उत्पादनको उचित मूल्य प्राप्त गर्ने र बजारमा मूल्यसम्बन्धी अनिश्चितता कम हुने मन्त्री चौधरीको निजी सचिवालयले जनाएको छ।






