बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध ,कहाँ कस्तो छ राजमार्गको अवस्था ? (सूचीसहित)

काठमाडौँ– बाढी तथा पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग र सडक खण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्।

बागमती प्रदेशअन्तर्गत धादिङको धुनिवेशी नगरपालिका–९ खत्रीपौवामा गत असोज २१ गते पहिरो खस्दा त्रिभुवन राजपथमा यातायात प्रभावित भएको छ। उक्त सडक खण्डमा हाल एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्।

त्यसैगरी, गण्डकी प्रदेशको म्याग्दीस्थित बेनी–जोमसोम सडक खण्डअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

नवलपरासीको कालीगण्डकी करिडोरअन्तर्गत बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोमा पनि पहिरो खसेका कारण यातायात प्रभावित भएको छ। उक्त सडक खण्डमा साना सवारीसाधन मात्र सञ्चालन भइरहेका छन् भने ठूला सवारीसाधन आवागमन गर्न नसक्ने अवस्था छ।

यस्तै, मनाङमा गत असोज १८ गते आएको बाढीका कारण बेँसीसहर हुँदै खाङसारसम्म पुग्ने सडकमा पनि एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।

गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा वडा नं. ९ को नयाँपुल क्षेत्रमा आइतबार आएको बाढीले थप क्षति पुर्‍याएको छ। बाढीका कारण सोतीस्थित फलामे पुलमा आवागमन अवरुद्ध भएको छ भने गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडकसमेत पूर्ण रूपमा बन्द भएको छ।

प्राकृतिक विपद्का कारण विभिन्न सडक खण्डमा यातायात प्रभावित भइरहेकाले यात्रुलाई यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न र सावधानी अपनाउन आग्रह गरिएको छ